२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

‘उद्योगी–व्यवसायी संकटमा’

आइतवार , आषाढ ३१, २०८०

  • 982
    Shares
  • 982
    Shares
  • तिलोत्तमा, ३१ असार ।
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगी–व्यवसायी जोखिम र संकटको क्षेत्रमा रहेको बताएका छन् । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभाव तथा आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायी जोखिममा रहेको बताउँदै जोखिमबाट बचाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । 

    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको शनिबार तिलोत्तमास्थित संघको सभाहलमा आयोजना गरिएको आठौं तथा नवौं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा बोकेको निजी क्षेत्रलाई बचाउने दायित्व सरकारको रहेको बताउँदै अर्थतन्त्र सुदृढ गर्नको लागि पनि उद्योगी–व्यवसायीलाई सकारात्मक रुपमा लिएर समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि त्यति धेरै आशा गर्ने ठाउँ नभएको गुनासो गरे ।  

    कार्यक्रममा संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राज्यले निजीक्षेत्रमैत्री वातावरण निर्माण गर्न नसकेसम्म आर्थिक विकास सम्भव नहुने बताए । उद्योगी–व्यवसायीले जुनसुकै काम गर्दा पनि सरकारी निकायबाट हुने झण्झटिलो प्रक्रिया र असहज वातावरणका कारण भ्रष्टाचार बढेको उल्लेख गर्दै सरकारका विभिन्न निकायबाट हुने कानूनी प्रक्रियाका नाममा उद्योगी–व्यवसायीलाई दुःख दिने र आर्थिक मारमा पार्ने कामलाई रोक्न आग्रह गरे । 

    अध्यक्ष भण्डारीले हाल मुलुकको बिग्रदो अर्थतन्त्रलाई सुधार गर्न पूँजीगत खर्चमा वृद्धि, संस्थागत निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, कृषि, पर्यटन, साना तथा मझौला उद्यमलगायतका उत्पादनमुलक क्षेत्रमा पुनःकर्जाको सिमा र अवधि बढाउन आग्रह गरे ।

    त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । उनीहरुले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै यति धेरै योगदान गरेको निजी क्षेत्रको संरक्षण हुन नसके देशको अर्थतन्त्र झनै विग्रिदै जाने उल्लेख गरे । 

    कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले ऐन कानुनको परिधिमा रहेर काम गर्दा कुनै समस्या नआउने बताए । उनले उद्योगी–व्यवसायीलाई परेका समस्या समाधान र नजानेका केही कुरा भए सिकाउन कार्यालय तयार रहेको भन्दै त्यसको व्यवस्थापन मिलाउन संघलाई आग्रह गरे । 

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगर निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीलाई मात्रै नभएर ब्याजदर बढाउनु बैंकका लागि पनि राम्रो नभए पनि देशको परिस्थितिका कारण ब्याजदर बढाउन बैंकहरु बाध्य भएको बताए । उनले ब्याजमा दायित्व बढ्दा त्यसको व्यवस्थापन गर्ने कुरामा अग्रगामी सोंच नहुँदा अहिले उद्योगी–व्यवसायीलाई समस्या भएको बताए । 

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष वेलप्रसाद शर्मा, संघका कानूनी सल्लाहकार माधव घिमिरे, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने कर्जामा एकल अंकको व्याजदर कायम गर्न, कर्जाको प्रक्रिया सरलीकरण गर्न र निजी क्षेत्रसँग सम्बन्धित ऐन नियमहरु तर्जुमा गर्दा निजी क्षेत्रको प्रतिनिधित्व गराउन माग गरे । 
    साधारण सभाले महासचिव राजकुमार पाण्डेद्वारा प्रस्तुत वार्षिक तथा कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । 

    कार्यक्रममा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी मेन्स अण्डर १६ ईष्टजोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट व्याटिङ गरी गोल्ड मेडल प्राप्त गरेका तिलोत्तमा–५ का प्रतिक भट्टराई र श्रीलंकाको कोलम्बोमा भएको तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा गोल्डमेडल प्राप्त गरेका तिलोत्तमा–९ मंगलापुरका सन्यम कंडेललाई संघको तर्फबाट सम्मान—पत्रले सम्मान गरिएको संघका कार्यालय प्रमुख लोकनाथ खनालले जानकारी दिए ।