२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय रुपन्देहीको कार्यप्रगति ७२.३९ प्रतिशत 

आइतवार , आषाढ ३१, २०८०

रुपन्देही, ३१ असार । 
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षमा ७२ दशमलव ३९ प्रतिशत कार्यप्रगति हासिल गरेको छ । कार्यालयले चालुतर्फ ९४ दशमलव ४८ प्रतिशत र पूँजीगततर्फ ७१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा रुपन्देहीमा जलउत्पन्न प्रकोप नियन्त्रण र सिंचाई क्षेत्रको विकासका योजना सञ्चालनका लागि कुल विनियोजित बजेट २५ करोड ६८ लाख ४१ हजारमध्ये १८ करोड ५९ लाख ५१ हजार रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलकाअनुसार चालु आ.व.मा जिल्लाभर कुल ७४ वटा योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानतर्फ ९ करोड ४० लाख र समानीकरण अनुदानतर्फ १५ करोड ४४ लाख बजेट विनियोजित गरिएको थियो । आ.व. ०७९/८० मा सम्पन्न योजनाहरुको विवरणसहित वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख पौडेलले विभिन्न समस्या र चुनौतीहरुको सामना गर्दै सन्तोषजनक प्रगति हासिल भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिक रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले कृषि र सिंचाईं समस्याहरुको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले स्थानीय तहको मागअनुसार आवश्यक अध्ययन गरेर मात्र योजना तर्जुमा गर्न आग्रह गरे ।

सिंचाईं प्रणालीका उपाध्यक्ष ध्रुव धितालले जिगतमा नेपालकै नमुना सिंचाईंका रुपमा परिचित १६/३६ सिंचाई र कृषिको बिकासका लागि स्थानीय जनताको माग र आवश्यकताका आधारमा कार्यक्रम बनाउनुपर्ने बताए । 

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले योजनाहरु जुन उत्साहका साथ सुरु हुन्छन् तर समयमा सम्पन्न हुन नसकी जनतामा निराशा छाउने प्रवृतिको अन्त्य हुनुपर्ने बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, तिलोत्तमा नगरपालिकाका वडाअध्यक्षहरुलगायतले बाढी, पहिरो, नदी कटानलगायत प्रकृतिजन्य विपदबाट वर्षेनी धनजनको क्षति हुने गरेको चर्चा गर्दै नदी नियन्त्रण, पहिरो नियन्त्रण र भुक्षयबाट कृषि क्षेत्रमा हुने विनाश रोक्न दिर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।