
शनिवार , आषाढ ३०, २०८०
भैरहवा, ३० असार ।
नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखा, रुपन्देहीको आयोजनामा शुक्रबार सिद्धार्थनगर–१ स्थित विशालबजार, बेलहियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डेंगी नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको रेडक्रस बेलहिया उप–शाखाका सभापति सुमन शर्माले बताए ।
कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा रेडक्रस बेलहिया उप–शाखाका कोषाध्यक्ष माधव शर्माले बताए ।
कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सभापति दीपक क्षेत्री न्यौपानेले रक्तदान पुण्य काम भएको बताए । उनले रक्तदान कार्यक्रमले बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुर्याउने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
रेडक्रस बेलहिया उपशाखाका सभापति सुमन शर्माको सभापतित्व, रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलको विशिष्ट आतिथ्यता, रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशील गुरुङ, बेलहिया गाउँ समाजका अध्यक्ष मोहन सिंह शाही, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, बेलहिया सरसफाई अभियानका अध्यक्ष रमेश खड्का, भुपु सैनिक कल्याण्कारी संस्थाका अध्यक्ष पृथ बहादुर गुरुङ, बेलहिया आमा समूहकी अध्यक्ष मन कुमारी गुरुङ, जेसीआई सिद्धार्थ लेडी, नेपालकी पूर्व अध्यक्ष मन्जु शर्मा रेग्मी, समाजसेवी रामप्रसाद बस्याललगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक माधव शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन रेडक्रस सोसाइटी बेलहिया उप–शाखाका सचिव राकेश गुरुङले गरेका थिए ।
कार्यक्रममा भारतीय पर्यटक रोहित कुमार सिंहले रक्तदान गर्दै रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संयोजक शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij