
शुक्रवार , आषाढ २९, २०८०
भैरहवा, २९ असार ।
अहिलेको जटिल परिस्थितिसँग जुधेर पनि व्यवसायको प्रवद्र्धन तथा राष्ट्रको सम्पत्तिको संरक्षणमा खटिरहेका उद्योगी व्यवसायीहरुलाई असार मसान्तको निहुँ पारी बैंक तथा वित्तीय संस्थाले मानसिक तनाव दिएको भन्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । व्यवसायिक प्रतिष्ठानमा बैंकको प्रतिनिधि खटाएर घरपरिवार, बालबच्चासमेतलाई मनोवैज्ञानिक नकारात्मक असर पर्ने जस्ता विषय अहिले बजारमा व्यापत देखिएकोले यसप्रति राष्ट्र बैंक तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने माग गर्दै सञ्जालले शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फत राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा व्यवसायका लागि आफ्नो करोडौंको धितो राखेर बैंकबाट कर्जा लिएका व्यवसायीलाई धितोको मूल्यांकनभन्दा धेरै न्यूज कर्जा लिएका व्यवसायीहरु पक्कै पनि बैंकको ऋण नतिर्ने पक्षमा नरहेको उल्लेख छ ।
उद्योगी व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाइ कर्जा असुल गर्न नीति तत्काल बन्द गर्नुपर्ने सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न आग्रह गरे । उनले भने, ‘देशकै जटिल परिस्थितिमा केही समय दिनुको सट्टा व्यवसायीलाई काम गर्नै नसक्ने गरी मानसिक तनाव सिर्जना गर्ने बैंकप्रति नियमन गरी व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । ’ कर्जा असुलीमा केही समय थप गरी सहज वातावरण बनाउनुपर्ने उनले माग गरे ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारको गलत नीतिका कारण उद्योगी व्यवसायी मारमा परेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको बताए ।
सञ्जालका उपाध्यक्ष संजय बजिमयले राज्यले गर्नुपर्ने काम र पहल नगर्दा समस्या उत्पन्न भएको बताए ।
त्यस्तै सञ्जालका सचिव सचिन रोक्का, सदस्यहरु केशवराज ज्ञवाली, सुर्य कुमार सारु मगर, मधु प्रसाद पन्थी, पिताम्बर न्यौपाने, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का कार्यसमिति सदस्य रामअवध गुप्तालगायतले बोल्दै उद्योग व्यवसायी धरासायी भए बैंक सञ्चालनमा पनि समस्या हुने भएकाले बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीका पीडा बुझ्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीले सञ्जालले बुझाएको ज्ञापनपत्र राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्न राष्ट्र बैंकले सक्दो पहल गर्ने आश्वासन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij