
शुक्रवार , आषाढ २९, २०८०
भैरहवा, २९ असार ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मर्चवारको विभिन्न कार्यालयको अनुगमन गरेको छन् । बुधबार मन्त्री पाण्डेयसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री वसीउद्दीन खाँ तथा प्रदेश सभा सदस्य कन्हैया बनियाले ईलाका प्रशासन कार्यालय मझगावाँ, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको सिँचाई पम्प स्टेशनको अनुगमन गरेका हुन् ।
कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका गरी करीब २ लाख मर्चवावासीहरुलाई सेवा दिदै आएको ईलाका प्रशासन कार्यालय मझगावाँ अवस्थाबारे उक्त कार्यालय प्रमुख राकेश चौधरीले मन्त्री पाण्डेय तथा प्रदेश सभा सदस्य द्वय वसीउद्दीन खाँ र कन्हैया बनियालाई जानकारी गारएका थिए ।
कार्यालय प्रमुख चौधरीले भने, ‘यस कार्यालयमा आउने सेवाग्राहीहरुका लागि न बस्ने ठाउँ छ, न खानेपानी, न त उचित शौचालयको व्यवस्था । अहिले भिडभाडसमेत बढेकाले सेवाग्राही चर्को घाम तथा पानी पर्दासमेत झ्यालबाहिर उभिएर सेवा लिइरहेका छन् । सानो कोठा छ, छतको झापको तल समेत नअटने अवस्था छ ।’ सीमित साधनस्रोत र जनशक्ति नहुँदा समेत सेवा प्रवाह गर्दै आएको कार्यालय प्रमुख चौधरीले जानकारी गराएका थिए । अनुगमनको क्रममा मन्त्री पाण्डेयले तत्काल आवश्यक जनशक्तिको प्रबन्ध मिलाउने बताए ।
उक्त कार्यालयको लागि ट्रस्ट निर्माण, धारा जडान तथा शौचालयको लागि आवश्यक बजेट माग गर्न कार्यालय प्रमुखलाई जानकारी गराउँदै उक्त बजेट व्यवस्थापन गर्न मन्त्री पाण्डेयले बताए ।
त्यसै गरी मन्त्री पाण्डेयले कोटहीमाई गाउँपालिका–५ दुईमोहानस्थित मर्चवार लिफ्ट सिँचाईको पानी पम्प स्टेशनको अवस्थाबारे जानकारी लिएका छन् ।
पम्प स्टेशन प्रबन्धक अकरम खानले पम्प स्टेशनमा लो भोल्टे, बिग्रिएको स्टेपलाईजर, जीर्ण बन्दै गरेका मोटरलगायतका विभिन्न विद्युतीय उपकरण तथा विभिन्न भौतिक संरचाना बिग्रिदै गरेको अवस्थाबारे मन्त्री पाण्डेयलाई जानकारी दिएका थिए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले उक्त पम्प स्टेशन मर्मतको लागि यस वर्ष केही बजेट उपलब्ध गराउने बताए । उनले भने, ‘पम्प स्टेशनलाई आवश्यक मर्मत सम्भारको लागि आवश्यक बजेटलाई स्टीमेट गरी पेश गर्नुहोला । प्रदेश सरकारबाट सो बजेट उपलब्ध गराउने प्रतिबद्ध छु ।’
अनुगमनको क्रममा मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाका सञ्चालक टीमलगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij