
बिहिवार , आषाढ २८, २०८०
भैरहवा, २८ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डोल प्रसाद अर्याल (डी.पी.)ले आगामी २०८४ मा हुने निर्वाचनमा रास्वपालाई दुईतिहाई बहुमत दिन आग्रह गरेका छन् । उनले एकपटक जनताले काम गर्ने मौका दिनुपर्ने र १ सय दिनमै काम गरेर देखाउने दावी गरे ।
भैरहवामा उद्योगी व्यवसायीसँग छलफल तथा कुराकानी गर्दै उपसभापति अर्यालले रास्वपालाई जिताएर ठीकै गरियो भन्ने बनाउने बताए । उनले भने, ‘अहिले जस्तो २१ सीट, २५ सिट मात्र दिएर हुँदैन । सरकारको नेतृत्व गर्ने गरी रास्वपालाई जनताले दुईतिहाई बहुमत दिनुपर्छ । यहाँहरु जुनसुकै पार्टीमा भए पनि २०८४ मा एकपटक दुईतिहाई बहुमतका साथ रास्वपालाई जिताएर सरकार सञ्चालन गर्ने मौका दिनुस् । म आग्रह गर्न चाहन्छु ।’
उनले रास्वपा नेकपा एमालेको पछाडी लाग्यो भनेर भ्रम फैलाइएको बताए । उनले रास्वपा कसैको पछाडी लाग्ने पार्टी नरहेको बताए । उनले रेमिट्यान्सबाट मात्र मुलुक सञ्चालन हुन नसक्ने भएकाले उद्योग व्यवसायलाई राम्रोसँग सञ्चालन हुनुपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने, ‘कि समाधान दिनुपर्छ, होइन भने समाधान नहुने कारण दिनुपर्छ । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ ।’
उनले अहिलेको संघीयता नेता कार्यकर्ता व्यवस्थापन गर्ने खालको मात्र देखिएकाले यस्तो संघीयताको मोडलले नहुने बताए । उनले भाषणबाजी भन्दा पनि काम गर्ने बेला रहेको बताए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेता अर्यालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि संसदमा आवाज उठाउने बताए । उनले भने, ‘हिजो संविधान लेखेका दलका प्रतिनिधिले नै संविधानमा रहेका विषयवस्तुहरु सच्याउन सहयोग गर्नुपर्यो भनिरहनुभएको छ । ’
कार्यक्रममा उद्योगी व्यवसायीले कोभिड–१९ र आर्थिक मन्दीका कारण उद्योग व्यवसाय मारमा परेको बताए । उनीहरुले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि पहल गरिदिन उपसभापति अर्याललाई आग्रह गरे । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा अरबौंको लगानी जोखिममा परेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, रास्वपा लुम्बिनी प्रदेश सल्लाहकार विनोद खरेल, सिद्धार्थनगर सभापति सुमन न्यौपाने, सामाजिक अगुवा महेश नेपाल, रास्वपा सिद्धार्थनगर सदस्य माधव प्रसाद घिमिरेलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij