
बुधवार , आषाढ २७, २०८०
दाङ, २७ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्यसम्पादन गर्ने निर्देशनसमेत दिएका छन् ।
दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूति गर्ने गरी विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । ‘विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौं,’ मुख्यमन्त्री चौधरीले भने, ’जसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।’
उनले काम गर्दा अलमल गर्ने, ढिलासुस्ती गर्ने काम बन्द गर्न र जनताको आवश्यताअनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे ।
बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्यसम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयहरु भएको भन्दै त्योअनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनुपर्ने उनले बताए ।
मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरी कार्यसम्पादन गर्न र आवश्यक जनशक्तिलाई समेत त्यहीअनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए ।
कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजनाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहरु धेरै भएको हुँदा कार्यान्वयनमासमेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए ।
उनीहरूले चालु आर्थिक वर्षमा सन्तोषजनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिशतमाथि रहेको जानकारी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरू रोगगारसँग जोड्न सकिने बताइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij