
बुधवार , आषाढ २७, २०८०
भैरहवा, २७ असार ।
भैरहवा भन्सार कार्यालयले बिना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । गत जेठको दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाइ भन्सार जाँचपास गराउन खोजेको घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ ।
भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् । युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।
भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट) दिएमात्रै मालबाहक गाडी बाहिरीने गरिन्छ । तर, सोमबार भन्सार परिसरमा आएको गाडी बिना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरीन खोज्दा भन्सार प्रणालीले किर्ते देखाएकोे हो । निकासी गेटमा नक्कली गेटपास र एक्जीट नोट प्रणलीमा समावेश गर्दा नमानेपछि घटना बाहिरीएको हो ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले प्याज बोकेको ट्रक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए । ‘कागजपत्र किर्ते गरेको भन्ने आशंकामा मालबाहक ट्रकसहित चालक र सह–चालकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ, ’उनले भने ।
सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएको छ । भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
अघिल्लो महिना पनि यसै प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा भएको थियो । किर्ते प्रज्ञापनपत्र बनाई भन्सार जाँचपास गराउने १० जनाको समूहलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइएको थियो ।
बैंकका कर्मचारी, आयातकर्ता, निर्यातकर्ता, द्वयको काम गर्ने कर्मचारी, भन्सार एजेन्ट, अन्नपूर्ण टर्मिनल्सको कर्मचारी, जाँच पास भयो/भएन भन्ने चासो राख्ने व्यक्तिहरुको संलग्नता रहेको भन्दै उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो, घटनामा संलग्नमध्ये केही धरौटीमा छुटेका छन् भने केहीविरुद्ध मुद्दा चलिरहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij