
मंगलवार , आषाढ २६, २०८०
बुटवल, २६ असार ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मान्छे सकारात्मक सोचका साथ मानव कल्याणमा लाग्नुपर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर पहारीका बुवा ज्ञानेन्द्र प्रसाद पहारीको निधनमा मंगलबार बुटवल गोलपार्क निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भएको श्रद्धाञ्जली सभामा अध्यक्ष नेपालले मान्छेको जीवन कतिखेर के हुन्छ भन्न नसकिने भन्दै सबैको कल्याण हुने गरी जीवन बिताउनुपर्ने बताए । उनले मृतक बुवाले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्मरणीय रहेको बताउँदै मृतकप्रति श्रद्धाजली अर्पण गर्दै परिवारजनमा समवेदना दिए ।
एकीकृत समाजवादी पाल्पा जिल्ला अध्यक्ष कमल पाण्डे हृदयघात भएर केही दिनअघि गुमाउनुपरेको बताउँदै एक इमान्दार र सच्चा कम्यूनिष्ट नेता गुमाउनुपरेको समेत श्रद्धाञ्जलीसभामा अध्यक्ष नेपालले स्मरण गरे ।
श्रद्धाञ्जलीसभामा नेकपा एकीकृत समाजावादी पार्टीका पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरु राजु गुरुङ, सिद्धिचरण भट्टराई, भगवती घिमिरे, रमा घर्तीसहितका नेताहरुको उपस्थिति रहेको थियो ।
रुपन्देहीका प्रदेश सदस्य शंकर पहारी, अनेमसंघ बुटवल उपमहानगर कमिटी उपाध्यक्ष इन्दिरा पहारी, डा.नारायण पहारी, सुमन पहारी , भगवती रेग्मी, सीता ढुंगानाका बुवा÷ससुराबुवा ज्ञानेन्द्र प्रसादको असार २४ गते निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रम जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता र सचिव सरिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij