
सोमवार , आषाढ २५, २०८०
भैरहवा, २५ असार ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मन्त्री पद ‘निमित्त’ भएको बताएका छन् । उनले राम्रो काम गरे मात्रै जनताबाट आफूहरु जनताबाट पुनः नविकरण हुने बताए ।
श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले जनताको एक/एक मतले आफू निर्वाचित भएकाले आफू पदमा पुग्नुमा सबैको लगानी रहेको बताए । उनले भने, ‘जनताबाट निर्वाचित भएपछि आज पदमा पुगेको हुँ, यो पद निमित्त हो, पुनः ५ वर्षमा जनताबाट नविकरण हुनुपर्छ ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले सबैको मतलाई सम्मान गर्ने बताए । उनले जनताबाट प्राप्त मतको कदर गर्दै आफ्नो दायित्व निर्वाह गर्दै जाने बताए ।
उनले श्री रुपन्देही लीलाराम न्यौपाने माविलाई प्रदेश सरकारले बजेट बिनियोजन गरिएको र यसलाई सहयोगको रुपमा नलिइ आफूहरुले दायित्व निर्वाह गरेको बुझिदिन आग्रह गरे । उनले संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको बताए । मन्त्री पाण्डेयले भने, ‘विद्यार्थीहरुले शिक्षकशिक्षिकाको सम्मान गर्नुपर्छ । आफूले प्राप्त गरेको ज्ञान अरुलाई पनि दिनुपर्छ ।’
शिक्षा क्षेत्रमा लगानी बढाएर शैक्षिक गुणस्तर अझ सुधार गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । उनले डिग्री हासिल गर्नु मात्र शिक्षा प्राप्ती गर्नु नभइ संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको र संस्कृतिको संरक्षण गर्नुपर्ने औल्याए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij