
सोमवार , आषाढ २५, २०८०
भैरहवा, २५ असार ।
नमूना एकीकृत विकास परिषद् (नमूना), रुपन्देहीले राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता ढुंगाना शाहसँग आइतबार भैरहवामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगको सदस्य डा. अनिता ढुंगाना शाहले आयोगको गतिविधिको बारेमा जानकारी गराउँदै पन्ध्रौं आवधिक योजनामा भइरहेको कार्य तथा १६ औं आवधिक योजनाका लागि कार्य भइरहेको बताइन् । उनले आवधिक योजनामा समावेश गरिने कार्यक्रमहरुबारे नमूनासँग राय सुझाव लिइन् ।
नमूना एकीकृत विकास परिषद् रुपन्देहीको संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक ज्ञानु पौड्यालले राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त भएकी डा. अनिता शाह ढुंगानालाई बधाई दिदै शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको क्षेत्रमा विकास गर्न लागि राम्रो योजना बनाउन सुझाव दिइन् ।
कार्यक्रममा नमूना अन्तर्गत युएसएड तथा पेपफारको आर्थिक सहयोग र एफएचआई ३६० को प्राविधिक सहयोगमा सञ्चालित इपीक नेपाल परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत राजन गुप्ताले परियोजनाको संक्षिप्त जानकारी, परियोजनाले गरिरहेका कार्यहरु, आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गरिएको प्रमुख क्रियाकलापका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै नमूनाअन्तर्गत नागरिक आवाज ललितपुरको सहयोगमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा सञ्चालित सामूदायिक सुरक्षा जालो कार्यक्रमका कार्यक्रम संयोजक राजेश जि.सी.ले सीमान्तकृत, गरीब र लैंगिक असमानता, अपांगता, सामाजिक समावेशी, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, एकल महिला, घरेलु हिंसा पीडित महिला, यौनकर्मी, लैंगिक तथा यौनिक अल्पसंख्यक, अभिभावकबिहीन किशोरकिशोरी विपद् पीडित समुदायको आर्थिक, सामाजिक, मानसिक अवस्थाको क्षमता अभिवृद्धिका लागी कार्य गरिएको जानकारी गराएका थिए ।
नमूनाको अध्यक्ष सीता भट्टराईले अध्यक्षता, राष्ट्रिय योजना आयोगको सदस्य डा. अनिता ढुंगाना शाहको प्रमुख आतिथ्यता, नमूनाको कार्यकारी निर्देशक ज्ञानु पौड्यालको स्वागत तथा सामूदायिक सुरक्षा जालो कार्यक्रम संयोजक राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij