२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

प्रहरीसँग आम जनताको सहज पहुँच हुनुपर्छ : मन्त्री पाण्डेय

सोमवार , आषाढ २५, २०८०

भैरहवा, २५ असार ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले प्रहरीसँग आम जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिएका छन् । उनले २१ औं शताब्दीमा जनताले समाजको प्रहरी खोजेकाले प्रहरीलाई टाढा राखेर नहुने बताए ।

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले आइतबार भैरहवामा आयोजना गरेको प्रदेश प्रहरी नियमावली र सुरक्षा सम्बन्धी रणनीतिक योजनाको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले नागरिकको विभिन्न समस्या समाधान गर्न प्रहरी तत्पर रहेको बताए । प्रदेश प्रहरी र सुरक्षा सम्बन्धी कानून निर्माण गर्दा प्राप्त भएका सल्लाह–सुझाव लिपिबद्ध गरिने बताए । उनले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले प्रहरी कार्यालयहरुका लागि आवश्यक उपकरण, सामग्रीका उपलब्ध गराउनका लागि रकम उपलब्ध गराउने बताए । मन्त्री पाण्डेयले भने, ‘प्रदेशको औचित्य पुष्टी हुने गरी कानून बनाउँछौं ।’ आगामी तीन महिनाभित्र प्रदेश प्रहरी भर्ना गरिने उनको भनाइ छ । 

मन्त्री पाण्डेयले प्रहरीका पनि आफ्नै पीडा रहेकाले शब्दले मात्र नभइ कानून बनाएर सम्बोधन गर्न लागिपरेको बताए । उनले महिला प्रहरीका लागि छुट्टै ब्यारेक बनाउन पनि आवश्यक रहेको बताए । मन्त्री पाण्डेयले भने, ‘जिल्ला प्रहरी कार्यालयमा ब्यारेक बनाउन मैले नै नेतृत्व लिएर ब्यारेक निर्माण भयो । प्रहरीको पीडा देखेर ब्यारेक बनाउन नेतृत्व लिए । समाजको लागि प्रहरी हो । ’

विपद् र महामारीको बेला मर्यादा खोज्न नहुने उनले बताए । उनले भने, मर्यादा खोज्नु भन्दा मर्यादित बन्नुपर्छ । सहकार्य गरेर अघि बढ्नुपर्छ । प्रहरीलाई उपकरण, सामग्री उपलब्ध गराएर सुविधासम्पन्न बनाउन मन्त्रालय लागेको उनको भनाइ छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सुरक्षा निकाय केन्द्रीय संरचना अनुसार तयार भएको बताए । उनले एउटै निकायलाई १० ठाउँबाट आदेश आउँदा अन्यौलता हुन सक्ने भएकाले कुनै अफ्ठयारो नपर्ने गरी पुर्नसंरचना, समायोजन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका प्रदेश सचिव (कानून) राजेन्द्र थापाले अबको प्रहरी संगठन जनताको लागि हुनुपर्ने बताए । उनले पुर्नसंरचना अवसर पनि भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआईजी सुरेन्द्र शाहले लुम्बिनी प्रदेश प्रहरी संगठन निर्माणका आधार, गठन र परिचालन तथा लुम्बिनी प्रदेशका प्रदेश सचिव (कानून) राजेन्द्र थापाले लुम्बिनी प्रदेशको प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

IMG_1727.JPG