२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान सुझाव

आइतवार , आषाढ २४, २०८०

भैरहवा, २४ असार ।
आफू जाने मुलुकको भाषा, संस्कृति र कामबारेको सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान सरोकारवालाहरुले सुझाव दिएका छन् । महिलाका मामिलामा वैदेशिक रोजगार थप असुरक्षित र संवेदनशील भएकाले यसबारे धेरै पटक पुर्नविचार गर्न उनीहरुले सुझाए । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले शुक्रबार भैरहवामा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा विदेश जानैपरे नाफा घाटा जोडेर वैदेशिक रोजगारीबाट धेरै नाफा भए मात्रै निर्णय गर्न सुझाए । ‘वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च, त्यो समयमा स्वदेशमै गर्न सकिने नगद आम्दानी तथा पारिवारिक सहयोग जोड्दा वैदेशिक रोजगारबाट धेरै नाफा भए मात्रै विदेश जानुपर्छ,’ सामी कार्यक्रमकी जिल्ला संयोजक सीता पन्थ भण्डारीले भनिन् ।

वैदेशिक रोजगारबाट पठाएको धेरै रकम अनुत्पादक तथा अतिरिक्त काममा खर्च हुने र परिवार समेत भताभुंग हुने गरेको बताइन् । यसलाई रोक्न जनचेतनाप्रवाहसंगै स्थानीय तहले आफ्नै ठाउँमा सीप, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उनले उनले बताइन् ।   

बढ्दो बेरोजगारी र महत्वांकाक्षाले पछिल्लो समय काममा सीप र शिक्षा नभए पनि धेरै व्यक्ति वैदेशीक रोजगारीमा जाने गरेका छन् । त्यस्ता व्यक्तिहरु ठगिने, सोचेको कमाउन नसक्ने र खतरापूर्ण काम गर्नुपर्ने बाध्यतामा छन् । यस्तो बाध्यताबाट बच्न आफू कुन देशमा जाने हो, के काममा जाने हो,  कति पारिश्रमिक पाउने हो र कति समयका लागि जाने हो भन्नेबारेमा जानकारी लिन उनले आग्रह गरिन् । उनले श्रम स्वीकृति नलिइ अवैध बाटोबाट विदेश पुग्दा नेपालीले दुःख पाउने गरेको बताइन् ।

आफू जाने स्थानको जानकारी, त्यहाँको कानून र विदेश जाँदा चाहिने न्यूनतम सीप एवं ज्ञान नजान्दा दुःख र यातना पाउने गरेका छन् । 

लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले कुनै पनि कार्य सफलतापूर्वक सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् । उनले सामी कार्यक्रमले राम्रो कार्यक्रम गरेको बताइन् ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नगरभित्र कस्ता कति व्यक्ति वैदेशिक रोजगारीमा छन् र उनीहरुको अवस्था कस्तो छ भन्नेबारे तथ्यांक संकलन गरेको बताइन् । वैदेशिक रोजगारीमा जान चाहनेलाई सही सुचना, विप्रेषणको सही सदुपयोग र फर्केपछि पुर्नस्थापनामा स्थानीय तहले काम गरिरहेको उनले बताइन् । 

IMG_1492.JPG

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सकेसम्म स्वदेशमै रोजगार दिएर नेपालीलाई विदेशिनबाट रोक्नुपर्ने बताए । उनले विदेश जानैपरे सीप सिकेर मात्र विदेश जानुपर्नेमा जोड दिए । रुविता कार्की पुलामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

के हो सामी कार्यक्रम ?

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगकोतर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।