२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रोटरी क्लब अफ तिनाउ बुटवलको पद हस्तान्तरण 

आइतवार , आषाढ २४, २०८०

बुटवल, २४ असार ।
रोटरी क्लब अफ तिनाउ बुटवलको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी नेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२२/०२३ का अध्यक्ष कल्पना तिवारीले वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसाललाई पद हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ध्वजूले रोटरी क्लब अफ तिनाउ बुटवलले रोटरीको कार्यक्षेत्र र परिधीभित्र रहि सामाजिक क्षेत्रमा गरेका कामहरुको चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्यहरुको लागि शुभकामना दिए । ध्वजूले आफूले डिष्ट्रिक गभर्नरको जिम्मेवारी सम्हालीरहंदा लिएका उद्देश्य तथा योजनाहरु पूरा गर्न सबै रोटरी क्लब र सदस्यहरुको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहने बताए । 

क्लब एड्भाईजर एवं डिष्ट्रिक कन्फरेन्स कमिटी चेयर एजाज आलमले रोटरी क्लव तिनाउ बुटवलले स्थापनाको छोटो समयमै रोटरीको बीचमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यो पहिचानलाई कायम राख्ने गरि योजना बनाउन आग्रह गरे । 

कार्यक्रममा क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर यादव भण्डारी र २०२२/२३ का एसिष्टेन्ट गभर्नर राजुदेवी खनालले समाज रुपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण रहने बताउँदै रोटरी क्लब अफ तिनाउ बुटवललाई शिक्षा, स्वास्थ्य र चेतनाबाट पछाडी परेको समुदायमा योजना लिएर पुग्न आग्रह गरे ।

वर्ष २०२२/२३ का अध्यक्ष कल्पना तिवारीले गतवर्ष सम्पन्न गरिएका कामहरुको समीक्षा गर्दै अधुरा रहेका कामहरुलाई यसवर्षको नेतृत्वले पुरा गर्नुपर्ने बताइन् । गतवर्ष किशोरी आमाहरुलाई सीपयुक्त बनाउने उद्देश्यले सिलाई कटाई तालिम र सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माण गरिएको थियो । 

वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसालले किशोरी आमाहरुलाई एडभान्स तालिम संगै सामूहिक व्यवसाय सञ्चालनका लागि सहयोग र विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति यसवर्षका प्रमुख कामहरु रहने बताईन् । 

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका आईपिपी हिमाल गैरे, क्लबका पूर्व अध्यक्ष जमुना पौडेल, निर्वाचित अध्यक्ष रमिला शर्मा, नोमिनी अध्यक्ष उमा आचार्य, प्रथम उपाध्यक्ष माया भट्टराई, सचिव अनिता भुसाल, रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रिती श्रेष्ठलगायतले भनाइ राखेका थिए ।