
शनिवार , आषाढ २३, २०८०
भैरहवा, २३ असार ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शनिबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ । रोटरी वर्ष २०२३–२४ का लागि ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नाराका सिद्धार्थनगर–९ स्थित नयाँकोलोनीमा शनिबार बिहान वृक्षारोपण गरिएको क्लबले जनाएको छ ।
खुल्ला स्थानमा सडकको दुवैतर्फ गमला बनाएर विरुवा रोपिएको क्लबका अध्यक्ष राम बहादुर कोइरीले बताए । गाउँटोललाई हराभरा बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको कोइरीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सराहनीय कार्य गरेको बताए । उनले हरेक विरुवाको संरक्षणका लागि प्रत्येक गमलामा जाली लगाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विरुवा काठमाडौंको ग्रीन भ्याली ग्रीन नेपालले सहयोग गरेको क्लबले जनाएको छ । यसबाहेक, क्वालिटी रोटो प्याकेजिङ्ग प्रा.लि.ले ६० वटा प्लाष्टिक गमला र अर्घाखाँची सिमेन्टले ३० वटा गमला तथा स्थानीय आदित्यकुमार शर्मा र नारायण प्रसाद भण्डारीले पनि १०/१० वटा गमला सहयोग गरेका थिए ।
रोपिएका विरुवाको नयाँ कोलोनी टोल सुधार समितिले संरक्षण गर्ने जिम्मेवारी लिएको क्लबका पब्लिक इमेज चेयर उपेन्द्र यादवले जानकारी दिए ।
क्लबका अध्यक्ष राम बहादुर कोइरीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे रोटेरियन कृष्ण प्रसाद पाण्डे, राजकुमार गुप्ता, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका निवर्तमान निवर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेललगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्लबका सचिव गंगाधर भण्डारीको सञ्चालन, प्रियाबन्धु न्यौपानेको स्वागत तथा निवर्तमान अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij