मंगलवार, मंसिर १९ गते २०८०

भैरहवाका ६ व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

भैरहवाका ६ व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

images
images

खबर पात्रो

२२, आषाढ २०८०
  • 14.2K
    SHARES
  • भैरहवाका ६ व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

    भैरहवा, २२ असार ।
    जिल्ला बजार अनुगमन समिति, रुपन्देहीले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूची, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमति लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमति नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि ६ वटा पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
     
    अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हित संरक्षणविपरीत कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुकलगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ ।
     
    अनुगमन समितिले सिद्धार्थनगर–६ स्थित गल्लामण्डीको साहु जनरल स्टोर्सलाई ५० हजार जरिवाना तिराएको छ । उक्त स्टोर्सले खुद्रा विक्रेताको अनुमति लिएर थोकमा विक्री गरिरहेको, अवैध बाटोबाट भित्रिएका सामग्री विक्री गरेको, साइनबोर्ड तथा मूल्यसूची नराखेकाले जरिवाना गरिएको अर्यालले बताए ।

    थोक विक्रेताले नगरपालिकाभित्र कम्तीमा ६० लाख पुँजीमा मात्रै कारोबार गर्न पाउँछन् । ‘अनुमति थोरै कारोबार गर्ने भनेर लिने तर कारोबार धेरै गर्ने गरेको पाइयो, अब हामीले यी विषयलाई बढी प्राथमिकता दिएर अनुगमनलाई अझै प्रभावकारी बनाउँछौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
     
    यस्तै, जरिवानामा पर्नेमा सिद्धार्थनगर–६ कै शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।
     
    सिद्धार्थनगर–६ को महाकालेश्वर इन्टरनेशनल तथा सिद्धार्थनगर–४ को शिवकुमार टेड्रिङ र शिवशक्ति राइस मिललाई भने पहिलोपटकलाई सचेत गराइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, लुम्बिनी प्रदेशका निर्देशक दामोदर भण्डारीले बताए । ‘कुनै पनि बहानामा उपभोक्ता ठगिन हुन्न, कानूनअनुसार कारोबार गर्ने व्यवसायी मर्कामा परेर अवैध कारोबार गर्नेले प्रसय पाउनुहुन्न भन्नेमा हामी सचेत छौं’, भण्डारीले भने, ‘त्यसैले हामीले अनुगमनलाई विगतदेखि नै तिव्रता दिँदै आएका छौं ।’
     
    सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले कारोना महामारीले थलिएका व्यवसायी माथि उठ्दै गरिरहेको अवस्था प्रशासन सधै व्यवसायीको हकहितमा काम गर्ने तर अवैध कारोबारलाई रोक्न भने लागि पर्ने जनाए । ‘प्रशासन सधै व्यवसायीको पक्षमा छ, सही र वैध कारोबार गर्नेलाई संरक्षण गर्छ, पीरमर्कामा हातेमालो गरेर समस्या समाधानमा लाग्छ,’, उनले भने, ‘गलत गर्नेलाई कानूनी दायरामा ल्याउने र उपभोक्ताको हितलाई संरक्षण गर्ने कार्यमा भने कटिबद्ध भएर लाग्छ ।’
     
    उनले आफूहरु रुपन्देहीमा आएको करिब ८ महिनामा बजार अनुगमनलाई विशेष प्राथमिकता दिएको जनाए । ‘मेरो नेतृत्वमा अहिलेसम्म करिब १५ पटक बजार अनुगमन भएको छ, अनुगमनका क्रममा कतिलाई कारवाही गरिएको छ भने, कयौंलाई सचेत गराइएको छ’, उनले भने, ‘कुनै पनि बहानामा कालोबजारी मौलाउनुहुँदैन भन्नेमा हामी सचेत छौं र सोही अनुसार अनुगमन र नियमन गरिरहेका छौं ।’ अर्यालले प्रशासनको अलबा बाणिज्य कार्यालय र घरेलु कार्यालयले पनि दैनिक अनुगमन गरी अवैध सामान जफत गर्ने र गलत गर्नेलाई कानूनी दायरामा ल्याइरहेको जनाए । उनले जिल्ला अनुगमन समितिले अनुगमनलाई तीव्रता दिएकाले कसैले पनि अवैध कारोबार नगर्न–नगराउन तथा कानूसम्बत कारोबार गर्न अपील गरेका छन् ।

    images
    images

    images
    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - १७:०९:४० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij