२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सियारी गाउँपालिकाका अध्यक्ष घिमिरे र व्यवसायी कलवारको घरमा बम राख्ने समूह पक्राउ

बिहिवार , आषाढ १४, २०८०

भैरहवा, १४ असार । रुपन्देहीका विभिन्न तीनवटा स्थानमा भएको विष्फोटक पदार्थ विष्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा रुपन्देहीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षिय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षिय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षिय सुरज थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए ।

तीनदिन अघि पक्राउ परेका व्यक्तिहरुबाट लु ८५ प ६१२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल १÷१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १/१ थान बरामद गरिएको एसपी वि.क.ले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–७ ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ शिर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

यस्तो छ घटना विवरण

रुपन्देही प्रहरीका अनुसार २०८० वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ जस्तो देखिने पदार्थ (प्रेसर कुकर बम) भेटिएको थियो । नेपाली सेनाको विष्फोटक टोलीबाट उक्त बम डिष्पोज गरिएको थियो ।

त्यस्तै गत असार १ गते बिहान साढे २ बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरव प्रसाद कलवारको शिवम इम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी गत असार १ गते बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विष्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको थियो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र सिद्धार्थनगर नगरपालिका–४ का भैरव प्रसाद कलवारलाई मधेश पिपुल्स पार्टीको नामबाट फोनमार्फत फिरौती रकम माग गरी धम्की दिइएको प्रहरीले जानकारी दिए ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धानपश्चात थप जानकारी गराउने बताएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताए ।