
बुधवार , आषाढ १३, २०८०
रुपन्देही, १३ असार ।
लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ ।
त्यसै गरेर आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
त्यस्तै मन्त्रीपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामीत्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेयले बताए ।
त्यसै गरेर आर्थिक वर्ष २०७८/७९ को सशर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ ।
त्यसै गरेर निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्र्तगत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्यसम्पादन र कर्मचारीको वृति विकासको पक्ष समेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेयले बताए ।
केही दिनअघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुईजनालाई र बदियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij