
मंगलवार , आषाढ १२, २०८०
भैरहवा, १२ असार ।
प्रभु बैंक लिमिटेड मझगावाँ शाखाले मर्चवार आदर्श बहुमुखी क्याम्पसलाई १० थान पंखा हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रमुख अमृत कुमार त्रिपाठीले क्याम्पस प्रमुख रामकेश पाललाई सो पंखा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख त्रिपाठीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पंखा वितरण गरिएको बताए । बढ्दो गर्मीले राहत होस् उद्देश्यले विद्यालयमा पंखा वितरण गरिएको उनले बताए । उनले भने, ‘क्याम्पसमा अन्य सामग्रीको आवश्यकता हुन सक्छ तर, अहिलेको अवस्थामा बिहानैदेखि अत्यधिक गर्मी हुने भएकोले अध्यापन कार्य प्रभावित नहोस् भनी पंखा हस्तान्तरण गरेका हौं ।’
द्वन्दकालपछि वि.सं. २०६९ फागुन १४ गते मर्चवारमा इन्नोभेटिभ डेभलपमेन्ट बैंकको नामले पहिलो बैंकको रुपमा स्थापना भएको थियो । विभिन्न बैंकहरुसँग मर्ज हुँदै २०७९ पुस २६ गते प्रभु बैंकसँग मर्ज भई प्रभु बैंकको नामले सञ्चालन हुदै आएको छ । बैंकले यसअघि विभिन्न विद्यालयमा झोला वितरण, मर्चवारीदेवी मन्दिरमा खानेपानी ट्यांकी लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको जनाएको छ ।
बैंकबाट नगद जम्मा गर्ने र निकाल्ने, विभिन्न रेमिटान्स सेवा, विभिन्न किसिमका ऋण, एटीएमलगायत विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको शाखा प्रमुख त्रिपाठीले जानकारी दिए ।
क्याम्पस प्रमुख रामकेश पालले क्याम्पसको समस्या समाधान गर्न हातेमालो गरेको भन्दै बैंकलाई धन्यवाद व्यक्त गरे । क्याम्पस आफ्नै नयाँ भवनमा सरेपछि फर्निचर, विद्युत, कार्यालय लगायतका कुरा व्यवस्थापन भइरहँदा बैंकले पंखा हन्तान्तरण गरेपछि थप सहयोग भएको उनले बताए ।
क्याम्पस व्यवस्थापन समितिका वरिष्ठ सदस्य चिनगुद धरिकारको अध्यक्षता तथा शिक्षक पंचराम मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij