२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भैरहवाका व्यवसायी रमानन्द बनियाको घरमा विप्लव समूहको घेराउ

आइतवार , आषाढ १०, २०८०

भैरहवा, १० असार ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मिलनचोकस्थित ‘मिटरब्याजी’ तथा व्यवसायी रमानन्द बनियाको घर नियन्त्रणमा लिएको छ । मिटरब्याजी पीडितहरुको आग्रहमा स्थानीयसहितको उपस्थितिमा शनिबार नेकपाले उक्त घर घेराउ गर्दै नियन्त्रणमा लिएको जनाएको छ ।

मिटरब्याजी बनियाले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्यूनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्धक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ ।

बनियाले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको दावी गरिएको छ ।

सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितहरुले बताएका छन् । बनियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज लिएको दावी गरिएको छ ।

भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर उनले सावा रकम बनाएका तथ्यहरु रहेको पीडितले बताएका छन् ।

बनियाले दर्जनौं किसानलाई उठिबास लगाएको र कयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका दावी गरिएको छ । बनियाको ठगीधन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् ।
२०७४ सालबाट पटकपटक उजुरी दिए पनि सुनुवाइ नभएपछि पीडित ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएको उक्त पार्टीले जनाएको छ ।

नेकपामा उजुरी परेपछि पार्टीले पीडितहरुसँग भएका प्रमाण र अनुसन्धानले बनियाले किसानसँग करोडौं ब्याज मिटरब्याजमार्फत असुली गरेको देखिएको दावी सो पार्टीको छ ।

पीडित ऋणी, स्थानीयसहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बनियाको घर नियन्त्रणमा लिइएको नेकपाले दावी गरेको छ । प्रदर्शनसहित बनियाको घर पुगेको टोलीले घर घेराउसहितसहित विरोध प्रदर्शन गरेको थियोे ।

सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज सरद सी, जिल्ला सेक्रेटरी विरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बनियाविरुद्ध मिटरब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको बताए ।