२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

फूल अडिटको लागि आवश्यक बील भौचर पाँच वर्षसम्म राख्ने नियम अव्यवहारिक : उद्योगी व्यवसायी

शुक्रवार , आषाढ ८, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ८ असार ।
    आन्तरिक राजस्व कार्यालय, भैरहवा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा बिहीबार राजस्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यावसायीहरुले हाल भोग्नुपरेको समस्या, राजस्वसम्बन्धि नयाँ नीतिनियमहरु के कस्ता छन् सो सम्बन्धमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

    कार्यक्रममा उद्योगी व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयबाट गरिने फूल अडिट (पूर्ण कर परीक्षण) को लागि आवश्यक बील भौचरहरु पाँच वर्षसम्म राख्ने नियम अव्यवहारिक भएको बताए । उनीहरुले फूल अडिट तीन वर्षको मात्र गर्ने व्यवस्था हुनुपर्ने माग गरे ।

    त्यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले करसम्बन्धि जिज्ञासा भए प्रत्यक्ष भेटेर सोध्न सकिने बताए । जिज्ञासाको क्रममा कर सम्बन्धि जानकारीको कमि भएको भन्ने विषयमा निरौलाले संस्था जनचेतनामूलक कार्यक्रम गर्न तयार रहेको बताए ।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सागर पोखरेलले हाल करमा भएको परिवर्तन तथा पहिला नै भइरहेको व्यवस्थाको बारेमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालको विशिष्ट आतिथ्यता, आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत सागर पोखरेल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले गरेका थिए ।