
बिहिवार , आषाढ ७, २०८०
भैरहवा, ७ असार ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले चोरी तस्करीका सामग्री खरीद तथा विक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ । संघले चोरी तस्करीका घटनाहरु सुनिने गरेकाले यसतर्फ चनाखो हुन सुरक्षा निकाय तथा प्रशासनसँग आग्रह गरेको हो ।
संघले बुधबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्थानीय बजारमा पाइने सामानहरु स्थानीय बजारमै खरीद गर्ने बानी बसाल्न सर्वसाधारणलाई आग्रह गरे । उनले भने, ‘भन्सार विभागले भैरहवा भन्सार नाकाबाट विशेष गरी आयात कार्यमा १ सय रुपैयाँभन्दा बढीको सामान खरीद गरी ल्याए संक्षिप्त प्रज्ञापन भरी आवश्यक कर तिरी ल्याउनुपर्ने पुरानो नीतिनियम कार्यान्वयवन गरेकोमा यसको स्वागत गर्दछौं । ’
स्थानीय बजारमा खरीदारी गर्दा बिल बिजक अनिवार्य रुपमा लिनेदिने गर्न उनको आग्रह छ । अध्यक्ष श्रेष्ठले भने, ‘यसमा उपभोक्ता र विक्रेता दुवैलाई हामी आग्रह गर्न चाहन्छौं ।’
बेलहिया नाकामा कडाइ गरिएसँगै अन्य विभिन्न नाकामासमेत कडाइ सुरु गरिएको उनले बताए । यसले स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको श्रेष्ठले बताए । अवैध व्यापारलाई संघले प्रोत्साहन नगर्ने र निरुत्साहित गर्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले सीमामा कडाइ गरिदा केही भारतीय व्यवसायीले नेपाली व्यवसायीप्रति भ्रम फैलाएको भन्दै व्यवसायीमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो भन्दा छिटो अन्य क्षेत्रमा पनि उडान सुरुवात हुनुपर्ने संघको माग छ । वैदेशिक रोजगारमा जानेका लागि श्रम कार्यको लागि काठमाडौं नै जानुपर्ने व्यवस्था भएकाले सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवाबाट गर्ने व्यवस्था मिलाउनुपर्ने संघले माग गरेको छ ।
त्यसै गरी सिद्धार्थनगर नगरपालिका तथा अन्य छिमेकी पालिकाहरुले व्यवसायिक करहरु वृद्धि नगरी सकिन्छ भने कम गर्ने तथा करको दर नभइ दायरा बढाउनुपर्ने श्रेष्ठको भनाइ छ ।
सिद्धार्थनगर क्षेत्रभित्र व्यवसायकरमा छुटको व्यवस्था भाडामा पुर्नमूल्यांकन साथै व्यवसाय नविकरणमा भदौ महिनाभित्र गरे ५० प्रतिशत छुटको माग गर्दै पुराना व्यवसायिक फर्महरु नविकरण गर्न छुट भएको भए न्यूनतम शुल्क लिइ नविकरण गर्ने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।
सिद्धार्थनगर बजार क्षेत्रमा पार्किङ व्यवस्था सहज बनाउनुपर्ने, नगर क्षेत्रभित्रका विभिन्न स्थानमा शशुल्क पार्किङ रहेकाले आम व्यवसायी र सर्वसाधारण मर्कामा परेकोले पुर्नविचार गर्न श्रेष्ठले आग्रह गरेका छन् ।
हाटबजार क्षेत्रमा निर्माण भएको बहुउद्देश्यीय कृषि भवन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।
संघले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिमा चालू पूँजी कर्जासम्बन्धी व्यवस्थाले बजार चलायमान नहुने अवस्था सिर्जना भएकाले तत्काल कार्यान्वयन नगरी हाललाई सो व्यवस्था गर्नुपर्ने र आगामी मौद्रिक नीतिमा नयाँ व्यवस्थाको माग गरेको छ ।
त्यस्तै विद्युत अनियमित भइरहेकाले आम व्यवसायी, उद्योगी, सर्वसाधारण मर्कामा परेकोले विद्युत नियमित आपूर्ति हुनुपर्ने श्रेष्ठले बताए ।
त्यसै गरी बजेटमार्फत कृषिलाई टेवा दिन प्याज र आलु आयातमा मूल्य अभिवृद्धिकर लगाउने घोषणाले स्वदेशी कृषकहरुलाई फाइदा पुग्ने भए पनि यसबाट अहिले नै मूल्यवृद्धि भइरहेको अवस्थामा एउटा निश्चित समय तोकी आत्मनिर्भर भएपछि मात्रै आलु र प्याजमा मूल्य अभिवृद्धिकर लगाउनुपर्ने संघको माग छ ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले नियमअनुसार नै भन्सार कार्यालय अघि बढेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै आएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सीमा नाकामा कडाइ हुँदा राजस्व संकलनमा वृद्धि हुनुका साथै विभिन्न विकृतिहरु समेत रोकिएको बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महासंघको उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले सीमा नाकामा सुरु भएको कडाइले नतिजा दिन केही समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने बताए ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले नाकामा भएको कडाइको विरोध भन्दा समर्थन धेरै भएको दावी गरे ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले स्वदेशी व्यवसायीले उपभोक्तालाई स्वदेशमै सामान किन्न आकर्षित गर्नुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, निवर्तमान अध्यक्ष नरेश के.सी., सचिव प्रकाश न्यौपाने, कोषाध्यक्ष राधेश्याम विश्वकर्मालगायतले बोल्दै मुख्य नाकामा कडाइ गरिरहँदा अन्य नाकाबाट अवैध सामान ओसारपसारलाई रोक्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij