
बुधवार , आषाढ ६, २०८०
बुटवल, ६ असार ।
एकाएक ‘अघोषित लोडसेडिङ’ भएपछि आजित भएका होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयाँ मिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, पदाधिकारीहरुले बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेलाई तथा नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउँदै होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण समस्यामा परेको दुःखेसो गरे । पर्यटन व्यवसाय सबैभन्दा ठूलो संकटमा रहेको उनले बताए । कोभिड संक्रमण, आर्थिक संकटसँगै लगातार विद्युतको समस्याको कारण समस्या आइपरेको उनले गुनासो गरे ।
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण प्रालि, बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेले विद्युत उत्पादन कम हुँदा समस्या देखिएको बताए । गर्मीको कारण अत्याधिक उपकरण प्रयोग हुँदा भोल्टेजको समस्या रहेको उनको भनाइ छ ।
त्यसै गरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तिलोत्तमा शाखाको अगुवाइमा नेपाल विद्युत प्राधिकरण, नयाँमिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै थ्रि फेस जडान गरेको विद्युत पनि सही सेवा पाउन नसकेको व्यवसायीले दुखेसो गरे ।
नेपाल विद्युत प्राधिकरण, नयाँ मिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केही कठिनाइ रहेको बताए । एकैदिन राती १२ पटकभन्दा बढी ट्रिपिङ हुने समस्या देखिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij