
बिहिवार , जेठ ३२, २०८०
भैरहवा, ३२ जेठ ।
रुपन्देही युवा समूहले रुपन्देहीको मर्चवार क्षेत्रमा २० रुपैयाँमै शाकाहारी खाना खुवाउने भएको छ । यही असार २ गते शनिबार मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित गोनहाबाट उक्त खाना खुवाउने कार्यको शुभारम्भ गरिने समूहका रुपन्देही जिल्ला अध्यक्ष विशाल गुप्ताले बताए ।
गोनहाबाट शुभारम्भ गरिने उक्त कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने अध्यक्ष गुप्ताले जानकारी दिएका छन् । ‘रुपन्देही युवा समूहको धोको, मर्चवारको कोही जनता नरहुन भोको’ भन्ने नाराकासाथ प्रत्येक हप्ताको शनिबार विभिन्न ठाउँमा शुद्ध शाकाहारी खानाको स्टल राखिने अध्यक्ष उनले बताए । कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रमको थालनी गर्न लागिएको उनले बताए ।
खाना स्टलमा जो कोही आएर २० रुपैयाँमै पेटभरी खाना खान सक्ने उनले बताए । उनले भने ‘हामीले कुनै संख्या तोकेका छैनौ, जति सहभागीता हुन्छ, त्यति जनालाई हामीले खाना खाने व्यवस्था मिलाउनेछौं ।’ रुपन्देही युवा समूहले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij