२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

मर्चवारी–१ मा आगलागी हुँदा १३ लाख बढीको क्षति

बिहिवार , जेठ ३२, २०८०

भैरहवा, ३२ जेठ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर १ स्थित सोनवर्षामा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ । बिहीबार (आज) दिउँसो उक्त टोलमा आगलागी हुँदा ११ घरपरिवारको १३ लाख १० हजार २ सय रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । 

आगलागीमा आलु, गहुँ, चामल, लत्ताकपडा, मोबाइल, विद्युतीय उपकरण, कृषि औजार, भुस, फर्निचरलगायत विभिन्न सामान जलेर नष्ट भएको स्थानीयबासीले जानकारी दिए ।

प्रहरी निरीक्षक खरेलकाअनुसार दिउँसो उक्त टोलभित्र नास्ता पकाइरहेको बेला हावाहुरीका कारण फैलिएको आगलागीले मर्चवारी–१ का शिवशंकर पासीको २ वटा घर, पम्पसेट, ग्यास सिलेण्डर, पंखालगायत गरी रु. २ लाख ४३ हजार ७ सय, सोही स्थानका रामभक्त पासीको पम्पसेट, पाइप, छानालगायत गरी रु. २ लाख ५० हजार, राजेन्द्र मल्लाहको छानो, फर्निचर, पम्पसेटलगायत गरी रु. १ लाख ६९ हजार ५ सय, रामनिवास मल्लाहको २ वटा कच्ची घर, फर्निचर, पम्पसेट, विभिन्न जिन्सी सामान गरी रु. १ लाख ९० हजार, कमलेश पासीको बाकस १ थान, लत्ताकपडा, मोबाइललगायत विभिन्न जिन्सी सामान गरी रु. ६४ हजार ५ सय, मनराज पासीको केबलतार रु. ७ हजार ५ सय, कोइल मल्लाहको त्रिपाल, फर्निचरलगायत जिन्सी सामान गरी रु. १७ हजार ५ सय बराबरको क्षति भएको छ ।

त्यस्तै सोही स्थानका रामजीत यादवको थ्रेसर, भुस, पानी तन्ने पाइपलगायत विभिन्न जिन्सी सामान गरी रु. ३ लाख ५ हजार, हरिद्वार यादवको भुस, गहुँलगायत विभिन्न खाद्यान सामान गरी रु. ४८ हजार, रामराज यादवको गुइठा, फूसको छानो लगायत गरी रु.७ हजार ५ सय, रामकेश सहानीको साईकल रु. ७ हजार गरी कुल रु. १३ लाख १० हजार २ सय बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

प्रहरीकाअनुसार एउटा छाप्रोमा आगलागी भएपछि ग्यास सिलेण्डर पड्किदा आगो झनै फैलिएको थियो । आगलागीपछि प्रभावित परिवार बाध्य भएर आकाशमुनी बास बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय समाजसेवी मुरलीधर कुर्मीले बताए । उनले भने ‘आगलागीले विभिन्न परिवारको आर्थिक क्षति भएको छ । सोनवर्षा टोल अहिले पीडामा छ । यसमा संघ, प्रदेश र स्थानीय सरकारले चासो राखी तत्काल सहयोग गर्नुपर्छ ।’

आगलागीपीडित अकलेश मल्लाहले आगो निभाउने क्रममा स्थानीयबासीसमेत घाइते भएको बताए । आगलागीपछि स्थानीय, प्रहरी मिलेर आगो नियन्त्रणमा ल्याएको उनले बताए । यस क्षेत्रमा दकमल नहुँदा बढी क्षति भएको उनले गुनासो गरे । उनले भने ‘हाम्रो पीडा सम्बोधन समस्या समाधान हुन्छ भन्ने उद्देश्यले  जनप्रतिनिधि पठाएका छौँ तर एउटा दमकलसमेत आएन । हरेक वर्ष हामीले यस्तै धेरै क्षति बेहोर्नुपरेको छ ।’ कसले बुझ्ला हाम्रो पीडा ? उनले प्रश्न गरे ।

आगलागी नियन्त्रणका लागि सहयोग गर्न सोनवर्षा पुगेका रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कन्हैया बनियाले आगलागीबाट क्षति पुगेको परिवारहरुलाई क्षतिपुर्ति दिलाउन प्रदेश सरकारलगायत विभिन्न निकायसँग पहल गर्ने बताए । उनले भने ‘मर्चवारमा दमकलको व्यवस्था नहुँदा पनि धेरै क्षति हुने गरेको छ । यसै वर्ष मैले प्रदेश सरकारबाट पहल गरी दमकल खरीद गर्ने प्रक्रिया अगाडी बढाएको छु । दमकल सञ्चालनमा आउँदैछ, जसले आगलागी हुँदा धेरै हदसम्म क्षतिलाई रोक्न सहयोग पुग्नेछ । ’