२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भारत निर्यात हुन थाल्यो बालाजी सिमेन्ट इण्डष्ट्रिजको उत्पादन

मंगलवार , जेठ ३०, २०८०

भैरहवा, ३० जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले आफ्नो उत्पादन (सिमेन्ट) भारत निर्यात गर्न सुरु गरेको छ । 

बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.बाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स (बिआईएस) प्रदान गरेसँगै निर्यात सुरु गरिएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए । पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात गरिएको अग्रवालले बताए । ‘सोमबार २ ट्रकमा प्रतिट्रक २१ टनका दरले सिमेन्ट भारततर्फ निर्यात सुरु गरेका हौं । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात भएको हो, ’उनले भने ।

अग्रवालकाअनुसार भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तरसम्बन्धी इण्डियन स्ट्याण्डर्ड्स इन्ष्टिच्यूट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बाहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढेको हो । कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलोपटक हो । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य छ ।

‘भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । हामीले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हो, ’उनले भने ।

सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का प्रबन्ध निर्देशक रौनिक अग्रवालले बताए ।

वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थानमा सिमेन्ट भार तर्फ  निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको उनको भनाइ छ । ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत  निर्यात गर्ने सोचसहित थियो । सोच आज पूरा भएको छ ।  उनले भने, ‘हामी सफल भएका छौ । सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ । हामी चाहन्छौ राज्यले अझै उद्योग मैत्री, निर्यात मैत्री नीतिहरु ल्याउनु जरुरी छ । आजका दिनमा निर्यातको बाताबरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौ । ’ 

सिमेन्ट निर्यातले भारतसँग व्यापार घाटालाई केही कम गर्नेमा विश्वस्त रहेको उद्योगका संस्थापक सन्दिप काडियाले बताए । उनले भने, ‘हामी विश्वस्त छौ । हामीले जति बढी सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

चन्द्रौटा उद्योग वाणिज्य संघ, कपिलवस्तुका अध्यक्ष ईश्वरी पाण्डेले भारतमा सिमेन्ट निर्यात गर्नाले अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । उनले हालसम्म नेपालका ३ वटा सिमेन्ट उद्योगले भारत निर्यात गर्ने अनुमति पाएको बताए । 
शिवराज नगरपालिकाका प्रमुख अजय थापाले उद्योगले स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाभित्र रहेका उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्ने दायित्व नगरपालिकाको भएको बताए । उनले बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले छिमेकी मुलुकमा सिमेन्ट निर्यात सुरु गरेपछि गर्वको अनुभुति भएको बताए ।

IMG_9148.JPG

सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ । 
बालाजी सिमेन्ट उद्योग प्रा.लि.को दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बाहुबली र श्रृष्टी ब्राण्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स (बिआईएस) प्रदान गरेको छ ।

बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । जर्मनको यो प्रविधि सिमेन्ट उद्योगको लागि विश्वकै उच्चस्तरीय कम्पनी रहेको उद्योगको दावी छ । बालाजी सिमेन्टको बजार नेपालको लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक छ ।