
शुक्रवार , जेठ २६, २०८०
भैरहवा, २६ जेठ ।
गैरआवासीय नेपाली संघ (एन.आर.एन.) रसियाले श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवामा ४ लाख रुपैयाँको ‘छात्रवृत्ति अक्षयकोष’ हस्तान्तरण गरेको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीचएन.आर.एन.रसियाकोतर्फबाट रु.२ लाख र एन.आर.एन.रसियाका उपाध्यक्ष गणेश कुमार रामदाम वि.क.बाट रु. २ लाख गरी रु. ४ लाखको चेक तथा सम्झौता–पत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले पुरानै शिक्षा नीतिले देशको शैक्षिक क्षेत्रमा जनतालाई परिवर्तनको आभास गराउन नसकेको बताए । उनले वर्तमान शिक्षा नीतिले प्रमाण–पत्र मात्र वितरण गर्ने र देशमा बेरोजगार बढाउने गरेकोमा अब बन्ने संघीय शिक्षा ऐन प्राविधिक शिक्षासहितको व्यवहारिक सीपमा जोड दिनुपर्नेमा जोड दिए । विद्यालयमा कार्यरत बाल विकास र कर्मचारीहरुको वृत्ति विकासमा सरकारको नीति स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सामूदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न सरकारीस्तरबाट मात्र नभइ विद्यालयबाट अध्ययन गरी देश–विदेशमा रहेका पूर्व विद्यार्थीहरुको भेला गराई विद्यालयलाई आर्थिक एवं शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा अक्षयकोषका स्थापनाकर्ता गणेश कुमार रामदाम वि.क.ले आफूले अध्ययन गरेको विद्यालयमा पढ्न आउने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी यो छात्रवृत्ति अक्षयकोष स्थापना गर्दा गौरवान्दित भएको बताए । उनले आगामी दिनमा पनि विद्यालयलई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको अधिकाशं भौतिक पूर्वाधार तत्कालिन समयमा विट्रिस सरकारको सहयोगमा निर्माण भएको बताए । उनले पछिल्लो समय नयाँ विद्यालय व्यवस्थापन समिति आएपछि समग्र पक्षको सद्भाव र सहयोगमा संघ, प्रदेश र स्थानीय सरकारबाट सहयोग जुटाई विद्यालयको चौतर्फी विकासमा कटिबद्ध रहेको जानकारी दिए ।
गैरआवासीय नेपाली संघ रसियाकोतर्फबाट पूर्व छात्र गणेश कुमार रामदाम वि.क.ले छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएकोमा धन्यवाद दिदै यसबाट प्राप्त वार्षिक ब्याज रकमबाट विद्यालयले कक्षा ६ देखि ९ सम्म अध्ययनरत १–१ जना छात्र–छात्रा गरी ८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने शिक्षक देवी प्रसाद न्यौपानेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत तथा शिक्षक भरत गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर–२ का पूर्व वडाध्यक्ष तथा व्यवस्थापन समितिका सल्लाहकार दीपक कुमार थापा, वडा नम्बर १० का पूर्व वडाध्यक्ष विजयनाथ धवल, वडा नम्बर.६ का वडा सदस्य अनिल कुमार के.सी., पूर्व प्रधानाध्यापक मोहनसिंह आले, शिक्षाप्रेमी तथा पूर्व विद्यार्थी शारदा श्रेष्ठ, दिलमाया थापा, युवा समाजसेवी लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सल्लाहकार शिवशंकर गुप्ता, सदस्य सलुजा विश्व सेन्चुरी, समाजसेवी श्याम खनाल, भविलाल पौडेल, केदार प्रसाद कुर्मी, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, माधव शर्मा, दिप गुरुङ्ग, विनोद कुमार, विद्यालयका शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij