
शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
भैरहवा तथा यस क्षेत्र आसपासका क्षेत्रमा लायन्स क्लबहरु स्थापना हुने कार्यले निरन्तरता पाएको छ । सोही क्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथको स्पोन्सरमा लायन्स क्लब अफ रोहिणी युथ र लायन्स क्लब अफ मर्चवार युथ स्थापना भएको छ ।
क्लबहरु शहर केन्द्रीत मात्र नभई ग्रामीण क्षेत्रमा पनि स्थापना हुनुपर्छ भन्ने उद्देश्यले रोहिणी र मर्चवारमा दुई वटा क्लब स्थापना गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका पूर्व अध्यक्ष तथा लायन्स डिष्ट्रिक इन्टरनेशल ३२५ बी टु एरिया–४ का को–चिफ धिरज मल्लिकले बताए ।
लायन्स क्लब अफ रोहिणी युथको अध्यक्षमा महबुब अन्सारी र लायन्स क्लब अफ मर्चवार युथको अध्यक्षमा कमलेश उपाध्याय रहेका छन् । त्यसै गरी लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको स्पोन्सरमा भैरहवामा नयाँ क्लबको स्थापना गरिएको छ । विवेक जैसवालको अध्यक्षतामा लायन्स क्लब अफ भैरहवा युथको स्थापना भएको हो ।
क्लबको शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशल ३२५ बी टु का डिष्ट्रिक गर्भनर शम्भु नकर्मी, स्ट्रेटेजिक चिफ नवराज न्यौपाने, एरिया–४ का चिफ सन्दिप कसौधन, एओजी अर्चित श्रेष्ठ लगायतले बोल्दै नयाँ क्लबहरुले थप रचनात्मक कार्य गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका निवर्तमान अध्यक्ष अभिनव मयुर कसौधनको स्वागत तथा धिरज कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस अघि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको स्पोन्सरमा लुम्बिनीमा पनि अर्जुन कुर्मीको अध्यक्षतामा लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्ध स्थापना भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij