
मंगलवार , जेठ ९, २०८०
बुटवल, ९ जेठ ।
बुटवलमा रोजगार मेला-२०२३ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुईदिने मेला सुरु गरिएको हो ।
मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
उनले कामको लागि मुलुक बाहिर जाने प्रवृति रोक्न र उद्योगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी यसबीचको तारतम्य मिलाउन राज्यले नै सम्बोधन गर्नुपर्ने भनाइ राखे ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वल प्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढेलेखेका युवाहरु कामको खोजीमा बाहिरिरहेको कुरालाई मध्यनजर गरेर कसरी दुवै पक्षको आवश्यकता पूर्ति गर्न सकिन्छ भनेर रोजगार मेला गरिएको बताए । उनका अनुसार यो मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागीता छ ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेको बताए । उनले यहाँका उद्योगमा कामको लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहीबाट पूर्ति गर्न सकिए उद्योगी व्यवसायीलाई पनि सहज हुने बताए ।
इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.) का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारीमा प्रवर्धन गर्नको लागि मेला फलदायी हुने विश्वास व्यक्त गरे । सीप, श्रम र रोजगारी सबैको अधिकार भएको उनको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले शिक्षाको लागि विदेश जानेहरुका कारण जनशक्तिसँगै पुँजी पनि पलायन भइरहेको बताए । उनले यो क्रम नरोकिए नेपालको उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिति आउने भनाइ राखे ।
उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले रोजगार मेला गरिएको हो । महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिवृद्धि परियोजना अन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागीतामा मेला सञ्चालन गरिएको संघका महासचिव विमलराज भट्टराईले बताए । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij