
शुक्रवार , बैशाख २९, २०८०
भैरहवा, २९ वैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबैमाथि छानबीन तथा कारवाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै राप्रपा रुपन्देहीले विगतका ठूलठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबीन गरी अवैध सम्पत्ति जफत गरेर कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न माग गरेको हो ।
नक्कली शरणार्थी प्रकरणलाई कुनै पनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिषको विरुद्धमा राप्रपमा रहेको र अहिलेको छानबीन कार्यलाई निरन्तरता दिदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा काम गर्न दिन तथा यो प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत माग गरिएको राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष बलराम शर्माले बताए ।
‘राप्रपा छानबीनमा निर्दोष कोही नपरुन र दोषी कोही नछुटुन भन्ने कानूनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेलविरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने प्रतिवद्धता व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूलाई यस प्रकरणलाई उच्च प्राथमिकतामा रखाी छानबीन गरी दोष उपर सजाय गर्न माग गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
‘बहालवाला सचिव र तत्कालिन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भए पनि विगतको ठूलठूला भ्रष्टाचार काण्डहरु समयचक्रसँगै सेलाएर जानका साथै खासगरी ठूलाहरु खास गरी राजनैतिक नेतृत्वले घुमिफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरुपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भइसकेको छैन, ’ज्ञापनपत्रमा भनिएको छ ।
त्यस्तै ‘देशको अन्तर्राष्ट्रिय छवि नै धुमिल गराउने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरुपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शिर निहुर्याउनुपर्ने परिस्थिथित सृजना भएको छ । यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै बहानामा पनि छुट दिनु हुँदैन, ’ज्ञापनपत्रमा उल्लेख छ ।
राप्रपाले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij