२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उत्पत्तिको प्रमाणपत्र वितरण शुभारम्भ कार्यक्रम

बुधवार , बैशाख २०, २०८०

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २० वैशाख ।
    रुपन्देही व्यापार संघले यस क्षेत्रबाट वस्तु निकासीका लागि प्राप्त उत्पत्तिको प्रमाणपत्र वितरणको अधिकारलाई व्यवसायीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपालमा उत्पादित सामग्री भारत निकासी (निर्यात) गर्न आवश्यक स्वीकृतिका लागि प्रक्रिया पूरा गर्न प्रदान गरिने अधिकार उत्पत्तिको प्रमाणपत्र दिने काम संघले चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) सँग सहकार्य गरी अगाडी बढाउने लक्ष्य र सहमतिअनुसार प्रमाणपत्र वितरण गरिएको हो । 

    रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष तथा संरक्षक मोतीराज ज्ञवालीले संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीलाई मंगलबार एक कार्यक्रमकाबीच बुटवलमा प्रमाणपत्रहरु हस्तान्तरण गरेका हुन् । दुई संस्थाबीच यस क्षेत्रमा उत्पत्तिको प्रमाणपत्र दिने काम संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।

    त्यस अवसरमा बोल्दै रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायिक गतिविधि अगाडी बढाउन र निकासी प्रर्वद्धनका लागि उत्पत्तिको प्रमाणपत्र वितरण गर्न पाउनु संस्थाको लागि निकै महत्वपूर्ण क्षण भएको बताए । उनले संस्थाले फड्को मारेको बताए । ‘ठूलै संघर्ष गरेका थियौं, उत्पादित वस्तुको निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र दिने अधिकार पाएका छौं, ’ज्ञवालीले भने । उद्योग व्यवसायीलाई वस्तु निर्यातमा प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष टंक प्रसाद पोखरेलले लामो मिहिनेतपछि उपलब्धी हासिल गरिएको बताए । उनले चेम्बरमा आबद्ध व्यवसायिक संघ–संस्थाहरुलाई बलियो र व्यवसायिक हितमा काम गर्न उत्प्रेरित गर्नका लागि यो अधिकार दिएको बताए । उनले त्यसलाई यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हितमा उपयोग गर्न सुझाव दिए ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले धेरै वर्षको संघर्षपछि सफलता प्राप्त भएको बताए । उनले भने, ‘धेरै भन्दा धेरै उत्पत्तिको प्रमाणपत्र जारी गर्नेछौं ।’

    त्यसै गरी संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले नेपालमा उत्पादित वस्तु निर्यात गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले लामो प्रयासपछि उत्पत्तिको प्रमाणपत्र दिने अधिकार पाएको उल्लेख गर्दै अब त्यसलाई बढीभन्दा बढी प्रयोग गर्ने जिम्मेवारी काधमा आएको बताए ।

    रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, संस्थापक अध्यक्ष मोतीराज पौडेलको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा सचिव फर्सुराम पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।