२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भन्सार एजेण्ट संघ काठमाडौंद्वारा बेलहिया माविलाई रु.एकलाख सहयोग

आइतवार , बैशाख १७, २०८०

भैरहवा, १७ वैशाख ।
नेपाल भन्सार एजेण्ट संघ काठमाडौंले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित श्री बेलहिया माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । संघले मैत्रीपूर्ण भ्रमणको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई रु. १ लाख ५ हजारको चेक हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्ने गरी अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरिएको संघका अध्यक्ष गौतम भट्टले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भन्सार एजेण्ट महासंघ, नेपालका पूर्व केन्द्रीय अध्यक्ष भरतराज घिमिरेले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘विद्यालयमा सहयोग गर्न मौका दिने र आतिथ्यता प्रदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले मैत्रीपूर्ण भ्रमणमा आएको बेला विद्यालयलाई सहयोग गर्ने नेपाल भन्सार एजेण्ट संघ काठमाडौंलाई धन्यवाद दिए । उनले भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

समाजसेवी देवराज न्यौपानेले विपन्न परिवारका विद्यार्थीहरुलाई केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले भन्सार एजेण्ट संघले विद्यालयलाई सहयोग गर्नु सराहनीय कार्य रहेको बताए । 

श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर क्षेत्रीले विद्यालयलाई स्थानीय संघ–संस्थाहरुले सहयोग गर्दै आएको बताए । उनले अक्षयकोषको रकमबाट प्राप्त ब्याजले विद्यार्थीहरुलाई सहयोग पुग्ने बताए । उनले विद्यालयमा निर्माणाधिन भवनलाई पूर्णता दिन सहयोग गर्न आग्रह गरे । होमनाथ धमलाको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_6268.JPG