
बिहिवार , बैशाख १४, २०८०
भैरहवा, १४ वैशाख ।
लुम्बिनी राउण्ड टेबल–१६ ले भैरहवास्थित दुईवटा विद्यालयका ६३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाले सिद्धार्थनगर–६ स्थित पशुपति शिक्षा मन्दिरमा अध्ययनरत ३२ र सिद्धार्थनगर–९ स्थित मोनटेश्वरी इङलिस बोर्डिङ हाई स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थीहरुलाई बुधबार छात्रवृत्ति वितरण गरेको हो ।
दुई विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीहरुलाई वर्ष २०८०–८१ मा अध्ययनका लागि रु. ४ लाख ४१ हजार विद्यालयलाई हस्तान्तरण गरिएको लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष अभिषेक अग्रवालले बताए । त्यस्तै विद्यार्थीहरुलाई स्कूल ब्याग समेत वितरण गरिएको अग्रवालले जानकारी दिए ।
लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष अभिषेक अग्रवालको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा पशुपति शिक्षा मन्दिरमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरारी अग्रवाल, कोषाध्यक्ष ब्रिजेश अग्रवाल, व्यवसायी श्याम अग्रवाल, रमेश अग्रवाल, विद्यालयका प्रिन्सिपल प्रेमधर पाण्डे, राउण्ड टेबल एरिया कोर्डिनेटर सौरभ अग्रवाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक तथा लुम्बिनी राउण्ड टेबल-१६ का कोषाध्यक्ष रोहित कुमार अग्रवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा मोनटेश्वरी इङलिस बोर्डिङ हाई स्कूलमा सम्पन्न कार्यक्रममा समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवाल, विनोद बेरिवाल, लेडिज सर्कल एन्टरनेशनलको एसिया प्यासिफिक चेयरपर्सन आरती अग्रवाल, विद्यालयका प्रिन्सिपल धर्मेन्द्र मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
राउण्ड टेबल नेपाल एक गैरराजनैतिक, गैरनाफामुलक संस्था हो । राउण्ड टेबल नेपालले ‘शिक्षा मार्फत स्वतन्त्रता’ नामक दीर्घकालिन परियोजना सञ्चालन गर्दै आएको छ । संस्थाले ५० भन्दा बढी विद्यालयहरुको अपनत्व ग्रहण पनि गरिसकेको छ । ती विद्यालयमा ३८० भन्दा बढी कक्षाकोठा निर्माण गरी धेरै विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गर्दै आएको जनाएको छ ।
टेबलले देशभरीका २० हजार छात्रछात्राहरुका लागि अध्ययन गर्ने वातावरण समेत मिलाएको छ । ‘एजुकेट अ चाईल्ड’ नामक परियोजना अन्तर्गत संस्थाले सामूदायिक विद्यालयमा अध्ययनरत देशभरीका १ हजार जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij