
बुधवार , बैशाख १३, २०८०
भैरहवा, १३ वैशाख ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले मंगलबार बालगृहमा पुगेर सञ्चालक कृष्णमाया गुरुङलाई चामल, दाल, तेल, आलु सोयाबीन, आटा, चिनीलगायतका सामग्री हस्तान्तरण गरेको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स जोन चेयरपर्सन एमजेएफ नेत्र प्रसाद आचार्यले यस क्षेत्रका संघ–संस्थाहरुले बालगृहको आवश्यकता अनुसार सहयोग गर्दै आएको बताए । उनले भाडामा सञ्चालित बालगृहलाई आफ्नै भवनको आवश्यकता रहेको र जग्गा प्राप्ती भएपछि भवन निर्माणका लागि यस क्षेत्रका संघ–संस्थाहरुले सहयोग गर्ने बताए । उनले भने, ‘लायन्स क्लबलगायत विभिन्न संघ–संस्थाले सिद्धार्थ बालगृहलाई प्राथमिकतामा राखेका छन् । ’ उनले जहाँ आवश्यकता, त्यहाँ लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी जस्तै गरी क्लबले सेवा भावले काम गर्नु सराहनीय रहेको बताए ।
लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले बालगृह र क्लबबीच नजिकको सम्बन्ध रहेको र निरन्तर सहकार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सहयोग गर्न पाउँदा हर्षित छौं ।’
क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गिरीले विगतमा पनि क्लबले बालगृहलाई सहयोग गरेको स्मरण गरे । उनले सामाजिक क्षेत्रमा क्रियाशिल भएको संस्था भएकाले सहयोगलाई निरन्तरता दिदै जाने बताए ।
सिद्धार्थ बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले चैतदेखि असार महिनासम्म (४ महिना) बालगृहमा खाद्यान्नको अभाव हुने गरेको जानकारी दिइन् । उनले बालगृहलाई सहयोग हुँदा निकै नै हौसला प्रदान भएको बताइन् । उनले भनिन्, ‘आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका छौं ।’ क्लबकी सचिव विना पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij