
शनिवार , बैशाख ९, २०८०
बुटवल, ९ वैशाख ।
रोटरी क्लब अफ बुटवलको १४ सय ५८ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।
बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव पोखरेलले कर प्रणाली, कर छली हुने अवस्था, राजस्व सम्बन्धी नीति, करका विभिन्न प्रकारहरुका बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै उनले करदाता र राजस्वका कर्मचारीहरुबीच सिधा सम्पर्क स्थापित नहुँदा बेलाबेलामा उद्योगी व्यवसायी तथा अन्य करदाताहरुले बिचौलियाका कारण समस्याहरु भोग्नु परिरहेको भन्दै अब सिधा सम्पर्क स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कतिपय अवस्थामा नजानेर पनि व्यवसायीहरु करसम्बन्धी समस्यामा पर्ने गरेको र अन्जानवश पनि कर छली हुने गरेका घटनाहरु हुने गरेको भन्दै उनले यसतर्फ सबैले सचेतना अपनाउन आवश्यक रहेको बताए । उनले विदेश जाने विद्यार्थीका नाममा ठूलो कारोबार देखाउने परिपाटी पनि पछिल्ला दिनमा मौलाउँदै गएको भन्दै यसले पछि गएर स्वयं व्यक्ति नै समस्यामा पर्न सक्ने खतरा औंल्याए ।
क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, टिकाराम न्यौपाने, हरि पौडेललगायतले करसम्बन्धी विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए ।
त्यस्तै बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु गोविन्द खनाल, छविन्द्र भट्टराई, विन्ध्याकेशर जोशी, संगीता अर्याललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा राष्ट्रपतिबाट विभुषित रोटरीयन र बेष्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्न सफल दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij