२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

सिद्धार्थनगरका विद्यालयहरुलाई मेयरको निर्देशन : चर्को शुल्क नअसुल्नु

मंगलवार , बैशाख ५, २०८०

भैरहवा, ५ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै विधालयहरुले आफूखुशी शैक्षिक शुल्क बढाउने र विद्यालयले तोकेको पसलमा शैक्षिक सामग्री खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गरेको अभिभावकको गुनासो/उजुरीलाई सम्बोधन गर्दै नगरपालिकाको कार्यालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संसोधनसहित र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ तथा संस्थागत विधालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को प्रावधान विपरीत मनोमानी ढंगले चर्को शुल्क असुल्ने र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्न बाध्य गराएको गुनासो/उजुरी प्राप्त भएपछि पत्र जारी गरेर निर्देशन दिइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
‘विद्यालयहरुले पसल नै तोकेर अभिभावकलाई शैक्षिक सामग्री त्यहीबाट खरिद गर्न बाध्य बनाउनु ठीक होइन’ नगर शिक्षा समितिका संयोजक समेत रहेका खानले भने, ‘शैक्षिक सामग्रीको विवरण उपलब्ध गराएर अभिभावकहरुलाई चाहेको पसलबाट सामग्री खरिद गर्न दिनुपर्छ , यो अभिभावकको स्वतन्त्रताको विषय हो, यसमा अंकुस लगाउन पाइदैन ।’

उनले थपे- ‘विद्यालयहरुले आफुखुशी शैक्षिक शुल्क समेत बढाउने गरेको गुनासो प्राप्त भएको छ र हामीले विधालयहरुलाई आफुखुशी शैक्षिक शुल्क वृद्धि नगर्न समेत निर्देशन दिइसकेका छौं ।’

नगरपालिकाबाट जारी गरिएको पत्रमा भनिएको छ– ‘यदि कही कतैबाट सो सम्बन्धमा गुनासो आएमा वा अनुगमनको क्रममा निर्देशनको उल्लंघन भए÷गरेको पाइएमा ऐन, नियमावली तथा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइनेछ ।’