मंगलवार, मंसिर १९ गते २०८०

एनआईसी एशिया बैंक लुम्बिनी शाखामा तालाबन्दी

एनआईसी एशिया बैंक लुम्बिनी शाखामा तालाबन्दी

images
images

खबर पात्रो

३, बैशाख २०८०
  • 14.4K
    SHARES
  • एनआईसी एशिया बैंक लुम्बिनी शाखामा तालाबन्दी

    भैरहवा, ३ वैशाख ।
    एनआईसी एशिया बैंक लुम्बिनी शाखामा आइतबार तालाबन्दी गरिएको छ । बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

    बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्राले बैंकबाट आफू पीडित भएको गुनासो गरे । उनले असोज मसान्तसम्म बैंकमा कुनै बाँकी वक्यौता नभए पनि त्यसपछि बैंकले १० लाख तिर्न आग्रह गरेको र आफूले तिरेको बताए । उनले भने, ‘बैंकको आग्रहअनुसार १० लाख तिरे तर, पछि फेरी ९ लाख तिर्न भनियो, ९ लाख रुपैयाँ तिर्न पनि तयार भए र रकम जुटाउनतर्फ लागे । तर, केही दिनपछि मलाई बैंकले ३० लाख जम्मा गर्न भन्यो ।’ अहिले होटल तथा पर्यटन व्यवसाय ठप्प भएको असहज परिस्थितिमा बैंकले झन ज्यादती गरेको उनको भनाइ छ ।

    images
    images

    ‘९ लाख रुपैयाँ जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किए र मलाई पुनः बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै मैले किस्ता तिर्ने भाका माग गरेको हुँ ।’ बैंकले कुनै मुद्दामा नजानुस्, हामी तपाईमाथि विश्वासघात गर्दैनौं भने पनि आफूलाई झुक्याएको मिश्राको भनाइ छ । होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उनले बताए । 

    आर्थिक संकटले आफूले बैंकको किस्ता तिर्न नसकेको र १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाने र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको मिश्राको भनाइ छ ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकको ज्यादतीविरुद्ध तालाबन्दी गरिएको बताए । उनले एनआईसी एशिया बैंकले उद्योगी व्यवसायी र सेवाग्राहीलाई दुःख दिएको बताए । उनले भने, ‘बैंकले सेवाग्राहीको सम्पत्तिमाथि आँखा लगाउने गरेको छ । ८/९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर बैंकले सम्झौता गर्ने अनि १८ प्रतिशतसम्म ब्याज लिन्छ । ’

    स्थानीय ईशा खड्काले बैंक जिम्मेवारीबाट पन्छिन खोजेको बताइन् । उनले सेवाग्राही अब चुप लागेर नबस्ने बताइन् ।

    स्थानीय होटल व्यवसायी अकरामुद्दिन खानले बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको बताए । उनले बैंकले व्यवसायीलाई अनावश्यक टर्चर दिएको बताए । 

    होटल व्यवसायी मेघनाथ आचार्यले एनआईसी एशिया बैंकले झुटको खेती गरेको बताए । उनले एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याइएको बताए । उनले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । 

    विरोध तथा तालाबन्दी कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, विष्णु गौतम, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवाली, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, अधिवक्ता प्रख्यात बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।

    तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि एक घण्टासम्म लगाइएको ताला खोलिएको छ । घटनाबारे बुझ्दा एनआईसी एशिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रविन रायमाझीले सोमबारको छलफल गर्ने भनी सहमति भएको बताए । बैंक कानूनी प्रक्रियाअनुसार नै अघि बढेको बताउँदे उनले सोमबारको छलफल हुने बताए ।

     

    images
    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १६:०८:११ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij