
शुक्रवार , बैशाख १, २०८०
बुटवल, १ वैशाख ।
नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकैठाउँमा पाउने गरी ‘नेपाली जुत्ता घर’ को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा अवस्थित डेल्टा मार्टको पहिलो तल्लामा शनिबार (आज) देखि जुत्ताघर शुभारम्भ भएको हो ।
जुत्ता घरको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पन्थीले नेपाली सामग्रीको उपभोगलाई वृद्धि गरी वैदेशिक व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । वार्षिक अरबौंको आर्थिक घाटालाई कम गर्नका लागि नेपाली उद्योग तथा उत्पादनलाई प्रोेत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सरकार मात्रै नभई् उपभोक्ता पनि सचेत हुनुपर्ने उल्लेख गरे ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, नेपाल वुट वेयर म्यानुफ्याक्चर एसोसिएशनका अध्यक्ष नविनराज घिमिरे लगायतले स्वदेशी बस्तुको प्रयोगमा जोड दिए ।
नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले खुला सीमा तथा उत्पादनको पाइरेसी प्रमुख समस्याका रुपमा चुनौती बनेको गुनासो गरे । नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेको उनले बताए ।
नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआपसमा प्रतिष्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीतिअनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् । पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ताबीच सहज ढंगले पुर्याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर सञ्चालनमा ल्याएका हुन् ।
स्वदेशी फुटवेयर उत्पादनबारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवद्र्धन र कम्पनीका आफ्नै रिटेल आउटलेटमार्फत जानकारी गराउँदै बाहिरी बजारसमेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए । उनी रन सुजका प्रबन्धक हुन् । जुत्ता उत्पादनमा लामो अनुभव संगालेका न्यौपानेले भने, ‘सबैतिर प्रतिष्पर्धा छ, तर हामी सहकार्यका लागि तयार भएर एकै छानामुनि बस्न तयार भएका हौं, यसको एउटै उद्देश्य हो, केही समययता खस्कन थालेको नेपाली जुत्ताको उपभोक्ता सचेतना बढाउने नै हो । ’न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।
जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।
जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रा.लि.को शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रा.लि.को बी एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरिष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।
नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।
नेपालमा हाल १५ सय फुटवेयर उद्योगहरु रहेका छन् जसमा अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले बताए । यसबाहेक घरेलु रुपमा उत्पादन गर्ने साना पसलहरु यसमा समावेश भएका छैनन् । यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौंले प्रत्येक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।
फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले विगतमा ७० देखि ७५ प्रतिशतसम्म नेपाली उत्पादनले थेगेको जुत्ताको बजार अहिले केही कम भएको बताए । देशभरको अनौपचारिक तथ्यांकलाई आधार मान्दा अहिले करिब ६० प्रतिशत हाराहारीमा नेपाली उत्पादनले थेगेको र अब यसलाई क्रमशः बढाउनुपर्ने बताए ।
‘कोरोना महामारीले हामीलाई केही प्रभावित बनायो, अहिले पनि यो उद्योगलाई चाहिने सानासाना सामग्रीहरु बाहिरबाट ल्याउनुपर्ने छ, जुन यहाँ उत्पादन गर्न सकिन्छ, अहिले बाहिरबाट ट्याग हानेर यहाँ जुत्ता आउने अवस्था छैन तर छिमेकी देशबाट चोरीपैठारी भएर कमसल गुणस्तरहीन जुत्ता आउन रोकिएको छैन त्यसको मार हामीले खेपेका छौ,’ उनले भने ।
कोभिड महामारीले थला पारेको नेपाली बजार, रसिया–युक्रेन युद्धका कारण कच्चा सामग्रीको बढेको लागत, बैंकको ब्याजदर एकल अंकबाट १७ प्रतिशतसम्म पुगेको अवस्था, बिना भन्न्सार दक्षिणी नाकाबाट कमसल तर उस्तै मोडलका सामान बजारमा आउनु, दक्ष श्रम शक्तिको अभाव, वित्तीय क्षेत्रमा बढेको तरलता मुख्य समस्या रहेको उद्योगीहरुको भनाइ छ । उपाध्यक्ष न्यौपानेका अनुसार बुटवलमा यसको पहिलो परीक्षणका रुपमा रोजेको र यसको प्रतिफल हेरेर अन्य क्षेत्रमा बिस्तार गरिने छ ।
जुत्ताघर शुभारम्भको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ सय यूनिट बढी रगत संकलन भएको संघका अध्यक्ष कृष्ण चौहानले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij