२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

घरभाडा घटाउन व्यवसायिक संघ–संस्थाको अपिल

बुधवार , चैत्र २९, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • रुपन्देही, २९ चैत । 
    चर्को बैंक ब्याजदर, महंगो घरबहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यवसायमा देखा परेको समस्या र बजार विस्थापित हुने अवस्थाका बारेमा बुधबार व्यवसायिक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को घरभाडा र बैंक ब्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायिक संघ–संस्थाहरुको संजालको बृहत बैठक आव्हान गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले चर्को बैंक ब्याजविरुद्ध चरणबद्ध आन्दोलनको खाका बैठकले तयार गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ ।

    रुपन्देही व्यापार संघ, रुपन्दही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको रुपन्देही व्यापार संघको भवनमा बसेको संयुक्त बैठकले घट्दो र खस्कदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरबहाल घटाउन घरधनीहरुलाई सामूहिक आग्रह गरेको छ ।

    बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धरासायी हुँदै गइरहेको र त्यसबाट आएको संकटको विषयमा गम्भिर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । बैठकपछि जारी संयुक्त अपिलमा यस्तो अवस्थामा सुधार गरी मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने जनाउदै गम्भिर बन्न सबैका अनुरोध गरिएको छ । 

    अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल वजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्ने संख्या बढ्दै गएको र बजार विस्थापित हुने क्रम बढ्कोप्रति चिन्ता व्यक्त गरिएको छ । यो स्थितिाई मनन गर्दै पछिल्लो घट्दो र खस्कदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको जनाइएको छ ।

    अपिलमा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् ।