
बुधवार , चैत्र २९, २०७९
बुटवल, २९ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले गौशालामा स्थापना दिवस मनाएको छ । सहकारी स्थापनाको १२ औं वर्ष पुगेको अवसरमा बुटवल–७ स्थित नन्दनी गौशालामा कार्यक्रम गरिएको हो । आफ्नो स्थापना दिवस हरेक वर्ष रचनात्मक कार्यक्रम गर्दै आएकोमा यसपटक पशु चौपायलाई खाद्यान्न दिएर मनाएको सहकारीले जनाएको छ । सहकारीका सञ्चालक सदस्यहरुको सहभागितामा गौशालामा दाना वितरण गर्नुका साथै गाई गोरुलाई नुन वितरण गरिएको हो ।
सहकारीका अध्यक्ष रोम बहादुर कुवंरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सहकारीले गरेको यो रचनात्मक कार्यको सबैले अनुसरण गर्नुपर्ने बताए । उनले नन्दनी गौशाला सबैको भएको भन्दै यसको संरक्षण र सञ्चालनमा सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा नम्बर ७ का कार्यवाहक वडाअध्यक्ष वीर वहादुर लामा सडक दुर्घटनादेखि अन्य धेरै समस्याका कारण गौशाला निर्माण गरिएको भन्दै यसको प्रभावकारी सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा गौशाला सञ्चालन समितिका कार्यवाहक अध्यक्ष गुप्त बहादुर क्षत्रीले नगरपालिका र सामूदायिक वनको सहकार्यमा गौशाला निमार्ण भएको भन्दै यसलाई व्यवस्थित बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष इश्वरी खनाल, सल्लाहकार अर्जुन कुवंर लगायतले बोलेका थिए । झण्डै ५ सय गाईको व्यवस्थापन गर्न सकिने नन्दनी गौशालाको पूर्ण रुपमा सञ्चालनका लागि बजेट अभाव रहेको गुनासो व्यवस्थापन समितिले गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij