२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नयाँ वर्षसँगै बुटवलमा ‘नेपाली जुत्ता घर’ खुल्दै

सोमवार , चैत्र २७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • रुपन्देही, २७ चैत । 
    नेपालमै पहिलो अभ्यासको रुपमा बुटवलमा विभिन्न प्रतिष्ठित फुटवेयर कम्पनीका उत्पादन एउटै छानामुनी प्राप्त हुने भएको छ । बुटवलको डेल्टा कम्पलेक्समा यही २०८० वैशाख १ गतेदेखि साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउने भएको हो ।

    स्वदेशी फुटवेयर उत्पादनबारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेटमार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी गराए । नयाँ वर्षको अवसरमा पारेर बुटवलको डेल्डा कम्प्लेक्सको भुईतलामा सञ्चालन हुने जुत्ता घरबारेमा जानकारी गराउने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।

    जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टीवेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोला प्रसाद पाठकले बताए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधिभर डिलर मुल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

    जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि.को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् । नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।

    नेपालमा हाल १५ बढी फुटवेयर उद्योगहरु रहेका छन् भने अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले बताए । यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौंले प्रत्यक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।