२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनी विकास कोषबीच सम्झौता

बुधवार , चैत्र २२, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २२ चैत ।
    लुम्बिनीमा दानवापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    राष्ट्र बैंकको परिवत्र्य सूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआईएमबी बैंक सिंगापुर पठाउने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ ।

    लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दानवापतको रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरुको पटकपटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । उनले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दानवापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्य सूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्ने गरी सम्झौता हुनु ठूलो उपलब्धी भएको बताए ।

    पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुस लगायतका २० देशका करिव ७४ लाख नेपाली रुपैयाँ सटही हुने कोषले जनाएको छ । परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित एजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए ।

    राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका रंग लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा लेखिएको छ । अमेरिकी डलरमा सटही प्रदान गर्ने भए तापनि अमेरिकी डलर बराबरको नेपाली  रुपैयाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ ।