
बुधवार , पौष २२, २०७७
काठमाडौं, २२ पुस ।
नेपालको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने गरी अपारदर्शी ढंगले कृषिमा वैदेशिक लगानी खुला गरिएको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । कृषिमा शर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुलाउने सरकारको निर्णयविरुद्ध कृषि क्षेत्रका उद्योगीले विरोध गरेका हुन् । डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी संघ मत्स्य पालन संघ र केन्द्रीय पशुपंक्षी पालन संघका प्रमुख तथा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरी उक्त निर्णयप्रति आपत्ति व्यक्त गरेका छन् ।
कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएशनका महासचिव राधाकृष्ण सापकोटा, केन्द्रीय दुग्ध सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा र केन्द्रीय पशुपंक्षीपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले सरोकारवालासंग विना छलफल किसान र उद्यमीका हितविपरीत अपारदर्शी रूपमा गरिएको निर्णयले कृषि क्षेत्रमा वैदेशिक लगानीले मुलुकको अर्थतन्त्रमा गम्भिर र दीर्घकालीन असर पर्ने बताएका छन् । वैदेशिक लगानी बहिष्कार गर्नुपर्ने धारणा उक्त संस्थाका अगुवाले व्यक्त गरेका छन् ।
यसअघि पटकपटक विभिन्न माध्यमबाट कृषिमा वैदेशिक लगानी भित्र्याउने अभ्यास भएका थिए । चैत ४ को २०७५ मा बसेको प्रतिनिधिसभाको बैठकले संशोधनसहित पारित गरेको सो सम्बन्धी विधेयक र २०७५ चैत ८ मा बसेको राष्ट्रियसभाको बैठकले संशोधनसहित फिर्ता पठाउने गरी पारित गरेको थियो । तर पुस २० गतेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित डेरी उद्योग, पशुपन्छी मत्स्य, तथा मौरीपालन, फलपूmल, तरकारी र कृषिका प्राथमिक उत्पादनसंग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको थियो ।
कृषि क्षेत्रमा. नेपाली उद्यमीहरुको मात्रै ८५ अर्ब भन्दा बढिको लगानी रहेको नेपाली उद्यमीहरुले बताएका छन् । उद्यमीहरुका अनुसार माौरीमा ४ चार अर्ब, माछामा ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब लगानी रहेको छ भने उद्योग सञ्चालनबाट १५ लाखभन्दा धेरै साना कृषक तथा श्रमिकमा रोजगारी सिर्जना भइरहेको छ । यसरी कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा नेपाली उद्यमीहरुलाई मर्का पर्नेतर्फ सरकारको ध्यान नजानु दुःखद् पक्ष रहेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij