
आइतवार , चैत्र १९, २०७९
भैरहवा, १९ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा रहेको एन.जी. मार्केट कम्पनीले उपभोक्तालाई लक्षित गरेर १ हजार जनालाई १० प्रकारका उपहार योजना ल्याएको छ । यही १ चैतदेखि सुरु भएको उपहार योजनामा १ जनालाई तिलोत्तमा नगरपालिकाभित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फूटको साढे २ (अढाई) तले घर प्रदान गरिने छ ।
कम्पनीको ग्राण्ड ओपनिङको अवसरमा आयोजना गरिएको ‘लक्की ड्र’ (उपहार योजना) को बारेमा जानकारी गराउन एन.जी. मार्केट कम्पनीले शनिबार पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष नारायण बञ्जाडेले २ लाख उपभोक्ता (ग्राहक) लाई लक्षित गरेर यो उपहार योजना ल्याएको जानकारी दिए । यो योजना २०७९ चैत १ गतेदेखि २०८० मंसिर ७ (हरिबोधनी एकादशी) सम्म रहनेछ । हरिबोधनी एकादशीको दिन लक्की ड्र खोलिनेछ । उनले भने, ‘ग्राहकले मनोबल उच्च राख्नुपर्छ । ग्राहकको हौसला बढाउन र स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएका छौं । ’
यो उपहार योजनाअन्तर्गत १ जनालाई किया सेल्टस कार, १ जनालाई रोयल एनफिल्ड ३५० सीसीको (बुलेट) मोटरसाईकल, १ जनालाई भेस्पा स्कुटर प्रदान गरिने कम्पनीका प्रबन्ध निर्देशक आवाश वञ्जाडेले बताए ।
त्यसै गरी १५ जनालाई एक टन क्षमताको एयर–कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इञ्चको टेलिभिजन, १२५ जनालाई राईस कुकर र ८०१ जनालाई क्लोथ आईरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने उनले जानकारी दिए । जसमा उपहारको खरिदमा मात्रै ३ करोड रुपैयाँ भन्दा बढी खर्च हुने उनले जानकारी दिए । उनले तिलोत्तमा नगरपालिकालाई सफा र स्वच्छ राख्ने अभियानमा एन.जी. मार्केटको सहभागीता रहने बताए । उनले सामान किन्न सीमा पारी जाने ग्राहकलाई स्वदेशमै किन्नुपर्छ भन्ने उत्प्रेरणा जगाउन उपहार योजना ल्याइएको बताए ।
यो ‘लक्की ड्र’ प्रतियोगितामा सहभागी हुनको लागि दैनिक घरायसी सामान खरिद गर्दा एन.जी. मार्केटको ग्राहक सदस्यता लिनुपर्छ । त्यस्तै १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा ५ हजार रुपैंया बराबरको लुगा, कपडा तथा जुत्ताको खरिदमा लक्की ड्र कोड भएको कुपन उपलब्ध गराइनेछ ।
त्यस्तै एन.जी. रेष्टुरेण्टमा एकपटकमा ५ हजारको खानपिन बिलमा एउटा लक्की ड्र कुपन प्रदान गरिनेछ । सामानको खरिदमा एउटै नम्बरका २ वटा लक्की ड्र कोड युक्त कुपन ग्राहकलाई प्रदान गरिनेछ । त्यसमध्ये एउटा लक्की ड्र बक्समा खसाल्नुपर्नेछ भने अर्को सुरक्षित साथ राख्नुपर्ने छ । उपहार हस्तान्तरण गर्दा लाग्ने कर भने विजेताले नै व्यहोर्नुपर्ने स्टोर इञ्चार्ज दीपक भट्टराईले जानकारी दिए ।
सामान खरीद गर्न भारतीय बजारमा जाने नेपाली उपभोक्तालाई रोक्न जग्गासहित २ अर्बको लगानीमा २०७९ वैशाख १ गतेदेखि एनजी मार्केट सञ्चालनमा आएको थियो । जसमा अहिलेसम्म ५० हजार उपभोक्ता आएका छन् भने २० हजार उपभोक्ता नियमित रुपमा आउने गरेको पनि भट्टराईले जानकारी दिए । नेपाली उपभोक्ताले भारतीय बजारमा गएर सामान खरिद गर्दा स्वदेशी पैसा विदेश गइरहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij