२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह : विदेशबाट आयातित सामानमा भन्सार शुल्क बढाउनुस्

आइतवार , चैत्र १९, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १९ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विदेशबाट आयातित सामानमा भन्सार शुल्क बढाउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन् । उनले भन्सार शुल्क बढाए स्वदेशी उत्पादनले बजार पाउने र नेपालीले रोजगारी पाउने बताए ।

    शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ जुडा, मधवलियास्थित ए.जी. हेल्थ इण्डष्ट्रिज प्रा.लि.को अवलोकन तथा निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य शाहीले सेनेटरी प्याड र बेबी डायपरमा नेपाल आत्मनिर्भर भएकाले यसमा भन्सार शुल्क बढाउनुपर्ने बताए । उनले भने, ‘युवालाई देशमै रोजगारी दिन केही काम गर्नुस्, माननीय अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ । यसलाई रचनात्मक सहयोग भन्दा पनि हुन्छ ।’ उनले युवा तथा खेलाडीहरु विदेश पलायन भइरहेको र मुलुकको अर्थव्यवस्था कमजोर तथा वैदेशिक ऋण बढ्दो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे । सांसद शाहीले विदेशबाट आयातित सामानमा भन्सार शुल्क बढाउँदा सरकारको राजस्व पनि बढ्ने र स्वदेशी उद्योगबाट उत्पादित सामानले बजार पाउने बताए । 

    उनले भने, ‘सेनेटरी प्याडमा हामी आत्मनिर्भर छौं, केही माफियाहरुले विदेशबाट सेनेटरी प्याड आयात गर्नका लागि चलखेल गरे । जुन सामान नेपालमा उत्पादन हुन्छ, त्यसमा भन्सार शुल्क बढाउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नैपर्छ । ’भारत लगायत अन्य देशमा सेनेटरी प्याड ठूलो मात्रामा उत्पादन हुने भएकाले त्यहाँ उत्पादित सामान सस्तो पर्न गएकोले भन्सार शुल्क बढाए नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न सक्ने उनले बताए ।

    राप्रपाका प्रवक्ता समेत रहेको नेता शाहीले भने, ‘आयातित सामानमा ट्याक्स फ्रि गर्न पाँइदैन । कस्टम ड्युटी बढ्छ । त्यसैले अर्थमन्त्रीज्यूलाई मेरो सुझाव छ । ’नेपालमै उत्पादित वस्तु तथा सामानमा भन्सार शुल्क बढाउनुस् । यसबारे आफूले संसद् बैठकमा समेत कुरा राख्ने उनको भनाइ छ ।

    नेपाल सेनेटरी प्याड तथा बेबी डायपर उत्पादक संघका केन्द्रीय अध्यक्ष डोल प्रसाद अधिकारीले अरबौं लगानी रहेको सेनेटरी प्याड तथा बेबी डायपर उद्योगमा हजारौं रोजगारी गुम्ने अवस्था रहेको बताए । उनले तत्कालिन अर्थमन्त्री जर्नादन शर्माको पालामा १५ प्रतिशत भन्सार शुल्कलाई १.५ प्रतिशत गरिदा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘१८–२० घण्टा चल्नुपर्ने उद्योग अहिले ५–६ घण्टा मात्र चलिरहेको छ । ’उनले उद्योगका समस्याबारे विभिन्न राजनीतिक दलका नेता, अर्थमन्त्री, प्रधानमन्त्रीसँग भेटेर जानकारी समेत गराइसकेको बताए । नेपालमा रहेका ३५ वटा सेनेटरी प्याड उद्योगमा ६ अर्बको लगानी रहेको र ५ हजार बढीले रोजगारी पाएको अधिकारीले जानकारी दिए ।

    ए.जी. हेल्थ इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष तिलक प्रसाद अधिकारीले नेपालमा सेनेटरी प्याड र डायपर उद्योगको ठूलो बजार रहेको बताए । उनले नेपालका उद्योगलाई धरासायी बनाउने खेल भइरहेको बताए । उनले भने, ‘नेपालका उद्योगले प्रयाप्त मात्रामा गुणस्तरीय सामान उत्पादन गरिरहेका छन् । तर, राज्यको सही किसिमको नीति नहुँदा उद्योग धरासायी हुँदै गएका छन् । ’राज्यले सही किसिमको नीति बनाउनुपर्ने उनको माग छ ।

    ए.जी. हेल्थ इण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक गंगाधर अधिकारीले ७ वटा देशबाट उद्योगमा कच्चा पदार्थ आउने गरेको बताए । उनले २ विगाहा क्षेत्रफलमा रहेको ए.जी. हेल्थ इण्डष्ट्रिजमा २ अर्ब लगानी रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो उद्योगमा ३५० मजदूर कार्यरत छन्, जसमध्ये ८० प्रतिशत महिला छन् । ’यहाँ नेपाली प्राविधिक कार्यरत छन् । प्रतिमिनेट ४०० पिस डायपर र प्रतिमिनेट ६०० पिस सेनेटरी प्याड उद्योगमा उत्पादन हुँदै आएको उनले जानकारी दिए । २०७७÷०७८ मा ५ करोड बराबरको सामान भारत निर्यात गरिएको बताए ।