सोमवार, जेठ १५ गते २०८०

‘मुलुकको खस्कँदो अर्थतन्त्र उकास्न साझा प्रयत्न जरुरी’

‘मुलुकको खस्कँदो अर्थतन्त्र उकास्न साझा प्रयत्न जरुरी’

images
images

खबर पात्रो

१२, चैत्र २०७९
  • 439
    SHARES
  • ‘मुलुकको खस्कँदो अर्थतन्त्र उकास्न साझा प्रयत्न जरुरी’

    बुटवल, १२ चैत ।
    मुलुकमा व्याप्त आर्थिक मन्दी र सम्भावित वित्तीय संकट समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको प्रमुख दलका नेताहरुले बताएका छन् । केही समय यता उद्योग व्यवसाय क्षेत्रमा देखा परेको आर्थिक संकट र वित्तीय क्षेत्रमा उत्पन्न तरलता अभाव जस्ता समस्या समाधानका लागि सत्ता पक्ष र प्रतिपक्षको साझा प्रयासबाटै साझा निष्कर्ष निकाल्नुपर्ने नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेताहरुले बताएका छन् । 

    राजस्व संकलनका हिसाबले विगत ५० वर्ष यताकै सबैभन्दा निराशाजनक अवस्था रहेको उल्लेख गर्दै प्रमुख दलका प्रभावशाली नेताहरुले बजेटको साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुने सम्भावना रहेको बताएका छन् ।

    images

    बुटवलमा आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको संकटउन्मुख आर्थिक अवस्थालाई जिम्मेवार दलहरुले साझा धारणा बनाएर समाधान गर्नुपर्ने बताए । वि.सं. २०२८ सालमा यस्तै प्रकारको आर्थिक संकट परेको स्मरण गर्दै नेता पौडेलले निजी क्षेत्रको पुनःउत्थानका लागि आफू सधै प्रयत्नशिल रहने बताए ।

    त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार, प्रतिपक्ष दल र निजी क्षेत्रको सामूहिक रुपमा सहकार्य, समन्वय र साझा प्रयत्न हुनुपर्ने धारणा बताए । उनले सबै मिलेर मुलुकको अवस्था बदल्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वांरले केही वर्ष यता यातायात क्षेत्र सबैभन्दा बढी संकटग्रस्त बन्दै गइरहेको उल्लेख गर्दै यातायात क्षेत्रका समस्या समाधानमा सरकारले चासो देखाउनुपर्ने बताए । नेपालमा यातायात क्षेत्रमा १० अर्ब भन्दा बढी लगानी रहेको जानकारी गराउदै यातायात महासंघका केन्द्रिय अध्यक्ष स्वांरले आर्थिक संकटका कारण ११ लाख जनाको रोजगारी पनि संकटमा परेको भन्दै तत्काल समस्या समाधानका उपाय अपनाउन आग्रह समेत गरे ।

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. र पश्चिम नेपाल यातायात सहकारीका अध्यक्ष दधिराम खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जि.सी., नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष चोप नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, पश्चिमाञ्चल ट्रक समितिका अध्यक्ष यमप्रसाद पाण्डे, भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, आयोजक समितिका उपाध्यक्ष जीवन बन्जाडे, प्रबन्ध संचालक रामचन्द्र भुसाल लगायतले यातायात व्यवसायीहरुका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए । 

    करिब २ हजार ५ सय बस व्यवसायीहरु आबद्ध रहेको साविकको पश्चिम नेपाल बस व्यवसायी संघको संरक्षकत्वमा स्थापना भएको पश्चिम नेपाल यातायात सहकारी संस्थामा हालसम्म १५ सयभन्दा बढी सदस्यहरु रहेको अध्यक्ष खरेलले बताए । 
    ......................................................................

     

    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०७:०३:१९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend