
सोमवार , चैत्र ६, २०७९
भैरहवा, ६ चैत ।
ग्लोबल मनि वीक (विश्वव्यापी मुद्रा सप्ताह) सोमबारदेखि नेपालमा पनि साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । वित्तीय साक्षरता सञ्चालन गरी बचतको महत्व र कर्जाको उपयोगिताबारे जानकारी गराई बैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गराउन प्रेरित गर्ने गरी नेपाल राष्ट्र बैंकले ग्लोबल मनि वीक मनाउन लागेको हो । बर्षेनी मार्च २० देखि २६ अर्थात चैत ६ देखि १२ सम्म ग्लोबल मनि वीक मनाउने गरिएको छ ।
ग्लोबल मनि वीक कार्यक्रमका विषयमा बैंक तथा वित्तीय संस्थाहरुलाई युवा लक्षित कार्यक्रम सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको आयोजनामा भएको यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक थानेश्वर आचार्यले ‘प्लान योर मनि प्लान योर फ्युचर’ नाराका साथ कार्यक्रम गर्न आग्रह गरे । उनले वित्तीय साक्षरता अभियानमा युवा वर्गलाई समेट्ने गरी कार्यक्रम बनाउन पनि अनुरोध गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बैंक तथा वित्तीय संस्थाहरुप्रति जनमानसमा सकारात्मक भावना जागृत गर्न वित्तीय साक्षरता अभियानको आवश्यकता देखिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले संचालन गर्ने कार्यक्रममा अधिकतम सहभागिता जनाउन पनि आग्रह गरे ।
कार्यक्रममा भैरहवा तथा बुटवलमा रहेका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतहरु, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरुलगायतको सहभागिता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij