images

शनिवार, बैशाख १५ गते २०८१

व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव

व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव

images
images
images
शुक्रवार, चैत्र ३ २०७९
शुक्रवार, चैत्र ३ २०७९
  • व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव

    बुटवल, ३ चैत । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघ–संस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर अचाक्ली महंगो भएकोले भाडादरसम्बन्धी मापदण्ड बनाउन सुझाव दिएका छन् । उनीहरुले महंगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

    images

    प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै लगानी गरेका व्यवसायीहरु मर्कामा परेको उनीहरुले बताएका छन् । सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजनाहरु समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाइमा सडकमा आउन समेत तयार रहेको भन्दै संघ र प्रदेशका योजना समयमै सम्पन्न गर्नका लागि दबाबमूलक कार्यक्रम जरुरी रहेको बताए ।

    यस्तै, सहकारी क्षेत्रमा बुटवल उपमहानगरपालिकामा दर्ता नभएका सहकारीहरुका कारण सहकारीमा बेथिति देखिएको र त्यसको दोष सबै सहकारीकर्मीहरुले खेप्नुपरेको सहकारी क्षेत्रका व्यक्तिहरुले बताएका छन् । उनीहरुले बुटवलभित्रका सहकारीहरुलाई एउटै मापदण्डमा ल्याउन र एकरुपता गर्नका लागि समान ब्याजदर कायम गर्ने र त्यसको नियमन, अनुगमन बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सुझाव दिए ।

    बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यलेआयोजित छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफूहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन आग्रह गरे । उनले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि विज्ञहरुसमेतको सहभागितामा आवश्यक ऐनकानून बनाउने बताए । उनले सहकारीहरुले आफ्ना सदस्यहरुको लगानी सुरक्षित गर्दै सामाजिक क्षेत्रमा समेत लगानी गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गरे । सहकारीहरुले सहकारीका सदस्यहरुभन्दा बाहिरका उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै बुटवललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने उनले बताए । उनले बुटवलको व्यवसायिक क्षेत्रका समस्याका बारेमा बुटवल उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै नै यसबारे आवश्यक निर्णय गर्ने बताए ।

    बुटवलको बजार विस्थापित हुन नदिन र थप चलायमान बनाउनका लागि नीतिगत तहमा र संघ तथा प्रदेशस्तरमा समेत छलफल गरेर आवश्यक कदम चाल्ने नगरप्रमुख पाण्डेयले बताए । उनले बुटवललाई देशकै अगुवा शहर बनाउने उदेश्यका साथ आफुहरु अगाडि बढेको बताउँदै हरेक क्षेत्रको साथ र सहयोगले मात्रै बुटवल समृद्ध बन्न सक्ने बताए ।

    बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

    सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

    चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन् ।

    यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसीजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।
    सार्वजनिक सरोकार राख्ने संघ–संस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij