images

बिहिवार, बैशाख २७ गते २०८१

७० वर्षिय ‘घिमिरे बा’ को जोश र उत्साह युवाकाे जस्तै

७० वर्षिय ‘घिमिरे बा’ को जोश र उत्साह युवाकाे जस्तै

images
images
images
बुधवार, चैत्र १ २०७९
बुधवार, चैत्र १ २०७९
  • ७० वर्षिय   ‘घिमिरे बा’ को जोश र उत्साह युवाकाे जस्तै

    भैरहवा, १ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का ‘घिमिरे बा’ अर्थात केशवमणि घिमिरे । उनलाई चिन्ने जति सबैले यही नामले बोलाउने गर्छन् । उमेरले ७० वर्ष भन्दामाथि लागेका भएका ‘घिमिरे बा’ को काम गर्ने जोश र उत्साह भने अहिले पनि युवा उमेरको जस्तै छ । नेपाल सरकारको निजामती सेवाबाट सेवा निवृत भएको एक दशक भन्दा बढी भयो । तर अझै पनि काम गर्ने जोश र जाँगर भने उस्तै छ ।

    images
    images
    images

    पीठ्युमा कालो रंगको छड्के झोला । झोला भरी गाईवस्तुको बीमा गर्दा लगाइने संकेत पट्टा र प्रस्ताव फारम ।  सेतो कमिज लगाएर कृषकको गोठमा भेटिएका केशवमणि घिमिरे बा हिजो आज कृषि बीमाको माध्यमबाट बीमाको जनचेतना फैलाउदै बीमा गर्ने काम गर्छन् ।

    झण्डै ३ दशक बढीको निजामति सेवाबाट सेवा निवृत भएका उनी यतिबेला कृषि तथा पशु बीमा गर्नेका लागि घिमिरे बा नामले परिचित छन् । नेपाल सरकार पशु स्वास्थ्य निर्देशनालय अन्तर्गत पशु भेटेनरी अस्पतालमा पशु प्राविधिकका रुपमा झण्डै ३० वर्ष काम गरेर सेवा निवृत भएका उनी अहिले पनि उही जोशका साथ काम गर्छन् । कृषकले पशु बीमा गर्न होस वा कृषि तथा पशु बीमा दावी परेका बेलामा होस् । फोन आउनासाथ उनी कृषकको गोठमै पुग्ने गर्छन् । हरेक दिन गाईवस्तुको बीमा गर्नको लागी गोठमा पुग्नेदेखि पशु बीमामा आएको दावीको निरीक्षण गर्न, बीमाबाट प्राप्त भएको दावीवापतको चेक बुझाउन समेत उनी आफै कृषकको घरमा  पुग्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘कृषकले फोन गरेपछि वा दावीको चेक अफिसमा आएको सूचना पाउनासाथ कृषकको गोठमा पुग्न मन लागि हाल्छ । ’

    उनले गोठमा गाईवस्तुको बीमा मात्र गर्ने नभइ पशुमा देखिएका स्वास्थ्य समस्या समाधानको लागि पनि सही सुझाव दिने गरको बताउँछन् । ‘लामो समय कृषि प्राविधिकको रुपमा रहेर काम गरे । पशुपन्छीमा हुने विभिन्न स्वास्थ्य समस्याको बिषयमा लामो समय काम गरेको अनुभव छ । त्यसैले पनि कोही कसैले बोलाउनेबित्तिकै गोठमै पुग्ने गर्छु । गाईवस्तुमा केही स्वास्थ्य समस्या रहेछ भने औषधिको लागि सुझाव दिने गरेको छु । ’

    वि.सं. २०३५ सालमा पशु भेटेरिनरी अस्पतालमा अस्थायी प्राविधिकको रुपमा सेवा आरम्भ गरेको उनी २०३७ सालदेखि स्थायी कर्मचारीको रुपमा सरकारी सेवामा जागिरे भएका थिए । वि.सं. २००९ सालमा पाल्पा जिल्लाको बराङ्गदीमा जन्मिएका उनी जागिरको सिलसिलामा पाल्पा, स्याङ्जा, तनहुँ, मुस्ताङ्ग लगायतका जिल्लाहरुमा गएर सेवा गरेको बताउँछन् । उनी सम्झन्छन्, ‘हामीले जागिर गर्ने बेला यस्तो पशु बीमाको सुविधा पनि थिएन र कृषकहरुले पशु बिरामी हुँदा र मर्दा निकै नै शास्ती खेप्नु परेको थियो । त्यतिबेला नै कृषकहरुको सहुलियतमा केही भए त कृषकहरुलाई धेरै राहत मिल्थ्यो भन्ने लाग्दथ्यो । तर पछिल्लो समय सरकारले कृषि तथा पशु बीमामा धेरै सहुलियतका कार्यक्रमहरु ल्याए पनि कृषकहरुसम्म त्यसको पहँच वितार भने हुन सकिरहको छैन । ’

    जागिरबाट सेवा निवृत भएपछि कृषकहरुसँगै उनीहरुको दुःखसुखमा साथ दिनको लागि बीमा कम्पनीको कृषि प्राविधिकको रुपमा फेरी पनि जागिरे जीवनको सुरुवात गरेको उनी बताउँछन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कृषि प्राविधिकका रुपमा कार्यरत उनको शिखरमा पनि झण्डै एक दशक भन्दा बढी समय काम गरेको अनुभव बताउँछन् । कृषि तथा पशु बीमाको लागी रुपन्देही, नवलपरासी, पाल्पा कपिलवस्तु जिल्लासम्म पुग्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘सँगै काम गरेर रिटायर्ड भएका साथीभाइहरु कोही सन्तानसँग विदेश पुगे कोही आराम गरेर बसेका छन् । तर मलाई त खै किन हो घरमा त्यत्तिकै बसि राख्न मन पनि लाग्दैन ।

    रिटायर्ड लाइफ विदेशमा गएर सन्तानसँग बिताउनको लागि सन्तान विदेश नभएका पनि होइनन् । दुई छोरा र दुई छोरीका बुवा उनका दुई छोरीहरु हाल अष्ट्रेलिया र क्यानडामा छन् । अघिल्लो वर्ष मात्र पत्नी गुमाएका उनलाई छोरीहरुले विदेश घुम्न पनि कतिपटक कर गरे । तर उनी भन्छन्, ‘म केही महिना मात्र पनि बाहिर गए भने मेरा कृषक ( ग्राहकहरु)को बिचल्ली हुन्छ । बीमा भनेको अत्यन्त महत्वपूर्ण र जोखिमको रक्षावरण गर्ने काम भएकोले कृषकहरुलाई हुन सक्ने आर्थिक क्षतिबाट बचाउने जस्तो पुण्यको काम गरेको हुदाँ यस्तो राम्रो कर्म छोडेर किन जानु ? उनी भन्छन् ।  ’

    सेवानिवृत भएपछि रिटायर्ड लाइफ भनेको आराम गर्ने हो भन्ने आम बुझाइमा उनको फरक मत छ । आफूले सक्दा र शरीरले साथ दिदाँसम्म काम गर्नुपर्छ । आफ्नो जीवनकालमा उर्जाशिल समय कृषक तथा गोठमा रहेका गाईवस्तुको हेरचाह र स्वास्थ्य उपचारमा बिताइयो । अब बाँकी समय पनि यसरी नै कृषक र गाईवस्तुको बीमाको माध्यमबाट कृषकहरुलाई पर्न जाने हानी नोक्सानीको दायित्वबाट मुक्त गरेर कृषकको सेवा गर्ने उनको भनाइ छ । उनी कृषि बीमा मात्रै होइन बीमा गर्न जाने क्रममा कसैको गाईवस्तुमा कुनै स्वास्थ्य समस्या भएमा निःशुल्क स्वास्थ्य परामर्श समेत दिने गर्दछन् । उनी भन्छन्, ‘बीमा गर्न जाँदा कसैको पशुमा कुनै स्वास्थ्य समस्या भयो भने निःशुल्क परामर्श दिने गर्दछु । उनले हालसम्म झण्डै हजार भन्दा बढी कृषकको पशु बीमा गरेको र उनीहरुलाई बीमाको आवश्यकता बुझाउन सकेको सुनाउँछन ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij