
मंगलवार , फाल्गुण ३०, २०७९
भैरहवा, ३० फागुन । दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन् । एक हजार किलाेमिटर पैदल यात्रा गरेर लुम्बिनी आएकाे समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहकाबीच मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान लगायतले पैदलयात्रीहरुलाई बुद्ध
जन्मस्थलमा खादा ओढाएर स्वागत गरे । कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।
प्राथना र पूजा कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए । उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रुपमा मात्रै नभइ रोजगारीका हिसाबले पनि जोडिएको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल मायोदवी प्रांगणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्ध जन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायको तर्फबाट स्वागत गरे । उनले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुसीको क्षण रहेको बताए । उनले अग्रज भिक्षुसम्बन्ध अझै मजबुत बनेको बनाए । उनले दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीहरुको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्ध संस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन । मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्रांगणमा विश्व शान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिएका थिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।
लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरुबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको ठूलो–ठूलो समूह बुद्ध जन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई उर्जा थपेको कोषका बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । उनले चीनबाट पनि फेरी यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताए ।
टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चार माध्यमको समेत सहभागिता थियो । कोरियाली बौद्ध धर्माम्बलम्बीहरुको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ । तीर्थयात्रीहरुलाई मंगलबार विहान नेपाल भारत सीमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij